माघ २६, काठमाडौँ । संस्कृति तथा पर्यटन पूर्व राज्यमन्त्री पर्शुराम तामाङले राज्यले ल्होछार पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिनुपर्ने बताएका छन् । शनिवार राजधानी स्थित नेपाल चलचित्र विकास बोर्डमा आयोजित मञ्जुश्री सम्बत २८५७ औँ ल्होछार साँस्कृतिक तथा सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री तामाङ सो कुरा बताएका हुन् ।
नेपाल सरकारले ल्होछारको दिन सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने माग राख्दै उनले पहिचान र अधिकारको आन्दोलनमा धर्म संस्कृतिको जर्गेना गर्नुपर्ने बताए । सोनाम ल्होसारको शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय पर्वले तामाङ समुदायको पहिचान देखाउन थप उत्साह उर्जा मिलेको बताए । संविधान सभा सदस्य समेत भइसकेका तामाङले पहिचानलाई बचाउन आफु मन्त्री भएको बेला खादाबारे भएको भ्रमका विषयमा सदनमै आवाज उठाएर विरोध समेत गरेको बताए । तामाङ समुदाय मात्र नभई आदीवासी जनजातीको संस्कार र संस्कृतिमाथी पटक–पटक प्रहार हुने कार्यलाई रोक्न सबै जना एक ढिक्का हुनुपर्ने बताए ।
पूर्वमन्त्री तामाङले आफू एक राजनीतिकर्मी भएपनि समुदायको अधिकार र पहिचानको सवालमा राजनीतिभन्दा माथी रहेर एकताको काम गरेको बताउँदै सम्पूर्ण तामाङ लगायत आदीवासी जनजातीहरु पनि एकिकृत भई राज्यबाट पाउनुपर्ने अधिकारको प्रयोग गर्न आग्रह गरे । साँस्कृतिक युवा समूहले आयोजना गरेको उक्त कार्यक्रममा सामाजिक, खेल तथा कलाकारिता क्षेत्रबाट समाज र राष्ट्रलाई योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

