माघ २५, काठमाडौं । कास्कीमा सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १४, चाउथे बस्ने स्याङ्जा वालिङ नगरपालिका १, घर भएका ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्ले छन् ।
मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रि– टेस्ट सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लाइसेन्स निकालिदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग लिएको कागजपत्र, लाइसेन्स तीनथान, विभिन्न नमुना प्रश्नपत्र र नगद ८९ हजार ६ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

