‘लोकतन्त्रलाई बलियो बनाउन ताजा जनादेश’ : मन्त्री गुरुङ

माघ २३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले लोकतन्त्रलाई बलियो बनाउन ताजा जनादेशमा जानुपरेको बताएका छन् ।

प्रेस काउन्सिल नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा विभिन्न पुस्तकको लोकार्पण गर्दै उनले अहिलेको अवस्थालाई हेरेर दुई वर्ष मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा ताजा जनादेशबाट नै अगाडि बढाउन प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट गरे । सो अवसरमा मन्त्री गुरुङले काउन्सिलद्वारा प्रकाशित ‘शैली पुस्तिका’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’ र ‘पत्रकार आचारसहिंता (मैथिली भाषा र नेपालभाषा) ’ पुस्तकको लोकार्पण गरेका थिए ।

उनले मुलुकलाई थप द्वन्द्वमा जानबाट रोक्न सरकारले ताजा जनादेशमा जाने निर्णय गरेको धारणा राखे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अहिले मुलुक सङ्कटमा परेको भन्दै सबैलाई असल नागरिकको भूमिका निभाउन आग्रह गरे। उनले सङ्कटको बेला पत्रकारिताले समाजमा द्वन्द्व र राजनीतिक दललाई उत्तेजित बनाउने काम गर्न नहुने बताए। “प्रतिनिधिसभा विघटनपछि मुलुक दुई भागमा विभाजित भएको छ”, उनले भने, “मानिसलाई कतातिर उभिने भन्ने सङ्कट छ । यस्तो बेला पत्रकारिता सही दृष्टिकोणमा हिँड्नु पर्दछ ।” मन्त्री गुरुङले पत्रकारिता आचारसंहिताबाट मात्र निर्देशित नभई पत्रकार स्वयंले स्वविवेकबाट आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए । ‘‘प्रेस स्वतन्त्रता हुँदा अनियन्त्रित स्वतन्त्रतातिर जाने त होइन भनेर नै पत्रकार आचारसंहिता बनाइएको हो’’, उनले भने, ‘‘आचारसंहिताको पालनाको अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक छ ।’’

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले बढीभन्दा बढी पाठकलाई पनि जानकारी दिन पत्रकार आचारसंहितालाई मैथिली र नेपाल भाषामा प्रकाशित गरिएको जानकारी दिए। उनले शैली पुस्तिका आम पत्रकारिता लेखनमा एकरुपता ल्याउनका लागि उपयोगी हुने बताए । आचारसंहिताको मैथिली भाषाको अनुवाद र मैथिली भाषाको पत्रकारिताबारे प्रकाशन भएको ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’ नेपाल पत्रकार महासङ्घ नेपालका पूर्वअध्यक्ष धर्मेन्द्र झा तथा आचारसंहिताको नेपाल भाषाको अनुवादन सुरेश मानन्धरले गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नेपालका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता भाषामा एकरुपता ल्याउन शैली पुस्तिका महत्वपूर्ण हुने बताए । काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झपिन्द्र भुसालले भाषामा विकृत देखिएकाले एकरुपता ल्याउन शैली पुस्तक प्रकाशन गरिएको बताए । महासङ्घका अध्यक्ष झाले मैथिली पत्रकारिताको अध्ययन अनुसन्धान गर्न मैथिली छापा पत्रकारिताको इतिहास पुस्तक सहयोगी बन्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.