माघ १८, काठमाडौँ । खानेपानी मन्त्री मणि थापाले शनिबार सुर्खेतमा आयोजित कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भूलवश ती शब्द प्रयोग भएको बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्– ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।

