माघ १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले विभाजितको संघारमा रहेको पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । पार्टी एकताका लागि गौतमले ओली÷दाहाल समूहका शीर्ष नेताहरुसंग बराम्बार संम्वाद गरेको बताएका छन् । दाहाल–प्रचण्ड समूह एकताको पक्षमा सकारात्मक देखिएपनि ओली आफ्नो एकल निर्णयमै रमाइरहेको आरोप लगाए । उनले एकता अभियानको घोषणा गर्दै जसरी पनि दुवै समूहलाई एकतामा उभ्याउन सक्रिया रुपमा लागि पर्ने बताए । ओली समूहको ओली बाहेक सबै नेताहरुको एकताको पक्षमा रहेको उनले बताए ।
झण्डै १० लाख पार्टी सदस्य भएको नेकपा आलोपालो प्रधानमन्त्री २ अध्यक्ष प्रणाली र कार्यकारी अध्यक्ष विवाद अन्ततः विभाजनको रेखामा उभिएको छ । सम्पूर्ण शक्ति प्रर्दशन गर्ने होडमा दुबै नेता एकअर्कालाई आरोपप्रत्यारोप र रोष प्रकट गरिरहेका छन् । यसरी राजनीतिक संस्कार र सँस्कृति नै धमिलो हुने गरी मैदानमा उत्रिएका ओली÷दाहाललाई मिलाएर एक बनाउने अभियानमा संयोजनको जिम्मेवारी सम्हालेका वामदेम गौतमले ललितपुर स्थित धोविघाटमा एक कार्यक्रम आयोजना गरी पार्टी एकताको घोषणा गरेका छन् ।
बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरि उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनको निम्ति नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन् । नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षमा राजनीतिक रुपमा विभाजित भएपनि गौतम तटस्थ रहँदै आएका छन् । आफू एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिंदै गरेका गौतमले बुधबारदेखि औपचारिकरुपमै एकता अभियान घोषणा गरेका हुन् ।
उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे । शीर्ष नेताहरु विभाजित भएपनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरु एकता भंग भएकोमा चिन्तित रहेको भन्दै उनले आफूले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरुलाई अघि बढाउने बताए। ६ महिनाभित्र पार्टी एकता गराइसक्ने उपाध्यक्ष गौतमले दाबी गरे । ६ महिना अघि नै एकता हुन सक्ने पनि उनको भनाइ छ ।
उपाध्यक्ष गौतमले प्रचण्ड–नेपाल र ओली पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताए। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरेपनि आफूहरुले उक्त फैसलालाई शिरोधार्य गर्ने उनको भनाइ छ । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै संसद पुनर्स्थापना भयो भने पार्टी एकीकरण गराउन समय समेत प्राप्त हुने उनले बताए। प्रतिनिधिसभा पुनर्स्थापना भए पार्टी एकता जोगाउन सकिने भएकोले आफ्नो भित्री धारणा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको बताए ।
उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्वय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताए । पार्टी एकताको महत्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमति अनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताए ।
उपाध्यक्ष गौतमले अर्को पार्टी बनाउँछन् भन्ने सन्देश गएको भन्दै आफूहरुले अर्को पार्टी नबनाएको स्पष्ट पारे । सर्वोच्चमा परेको मुद्दा फैसला हुने बित्तिकै ओली र प्रचण्ड पक्षका नेताहरु पनि आफूहरुसँग मिसिन आउने उनको दाबी छ । सोही कार्यक्रममा गौतमद्वारा लेखित बहुदलीय समाजवाद, २१ औं शताब्दिको कम्युनिष्ट पार्टी, माक्र्सवाद र जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन र पार्टी एकताको अवाधारणपत्र समेत सार्वजनिक गरे ।

