माघ १३, काठमाडौं । प्रतिनिधि सभा विघटन बिरुद्ध नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठकमार्फत तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै आज तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सम्पन्न भइसकेका संघर्षका कार्यक्रमको समीक्षा गर्दै संसद विघटन बिरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए ।
तेस्रो चरणका आन्दोलनमा भातृ तथा शुभेच्छुक संस्थालाई अघि सार्ने नीति कांग्रेसले लिएको छ । जसअनुसार १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा ७७ वटै जिल्लमा प्रदर्शन हुने छ । यसैगरी २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० गते सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निणर्य समेत भएको छ । काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने संयुक्त आयोजना हुनेछ । यस अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो । यस्तै दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।
भातृसंस्थाहरुको म्याद थपियो
कांग्रेसलेकेन्द्रीय समिति बैठकबाटै म्याद सकिएका भातृ संगठनहरुको म्याद फेरी थप गरेको छ । जस अनुसार नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघसहित म्याद सकिएका भ्रातृसंस्थाहरुको म्याद सकिएको मितिले ६ महिना थप गर्ने निणर्य बैठकले गरेको हो ।
यसैबिच,मंगलबारको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशनका बारेमा समेत छलफल भएको छ । छलफलका क्रममा जिल्लामा वितरण भइरहेका क्रियाशील सदस्यताको फाराम ३० माघसम्म केन्द्रमा बुझाइसक्न जिल्ला समितिलाई निर्देशन दिएको जनाइएको छ ।

