माघ १३, काठमाडौं । नेकपाका प्रचण्ड– नेपाल समूहले नागरिक समाजको बालुवाटार घेर्ने कार्यक्रममा सोमबार प्रहरीले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा दमनसमेत नगर्न चेतावनी पनि दिएका छन् । उनीहरुले प्रहरीको दमनप्रति भर्त्सना गर्दै आन्दोलनमा घाइते भएकाहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् । ूकमलपोखरीबाट शान्तिपूर्ण रुपमा प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढिरहेको नागरिक समाजको यो प्रदर्शनमाथि जसरी प्रहरीद्वारा अत्यन्त क्रूरतापूर्वक हमला गरियो त्यो अत्यन्त निन्दनीय र खेदजनक छ । प्रहरीले अमानवीय ढंगले बल प्रयोग गरेर कैयौं नागरिक आन्दोलनकारीलाई घाइते बनाएको समाचारले हामी अत्यन्त दुःखित छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नागरिक समाजका घाइते आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । शान्तिपूर्ण रूपले विरोध प्रदर्शन गर्ने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिन्छौं ।’
प्रचण्ड(नेपाल समूहले नागरिक समाजको आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएको छ । ‘संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र संघर्षशीलताको हामी स्वागत गर्दछौं र उहाँहरूको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोध गर्दै सोमबार बालुवाटारमा प्रदर्शन गरेको थियो ।


