काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको हो ।
“आज दिउँसो काठमाडौंमा तापक्रम १७–१९ डिग्री सेल्सियससम्म पुग्छ । काठमाडौंको मौसम दिउँसो सफा नै रहन्छ । तर, पनि चिसो नै हुन्छ,” मौसमविद् विभूती पोखरेल भन्छिन्, “अहिले विहान भने काठमाडौैंमा हुस्सु लागेको छ । भिजिविलिटी ४ किलोमिटर छ ।” तराईमा अहिले बाक्लो हुस्सु रहेको छ । धेरै ठाउँमा अपराह्न्नसम्म हुस्सु हटे पनि कतिपय ठाउँमा साँझसम्म नै रहने उनको भनाइ छ । तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न आवश्यक सतर्क हुनुपर्नेमा उनको जोड छ ।
देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पोखरलले बताइन् । उनका अनुसार आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

