चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिँदै

माघ ५, लमजुङ । आगामी चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने भएपछि बिजुली थपिन लागेको हो ।

हालसम्म करीब ९८ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले सम्भव भएसम्म फागुन अन्तिमसम्म र यदि सम्भव नभए पनि चैत महिनासम्म सबै काम सम्पन्न गर्दै बिजुली बाल्ने तयारीमा रहेको आयोजनाका प्रवर्धक राजेन्द्र वस्तीले बताए । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार आयोजनामा यतिबेला विद्युत् गृहको काम र सबस्टेशनमा जोड्ने काम मात्र बाँकी रहेको छ । गत असोज महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि कोभिडका प्रभावले गर्दा निर्माण कार्य तीव्ररुपमा अघि बढ्न नसक्दा बिजुली उत्पादन चैत महिनादेखि मात्र हुन लागेको आयोजनाले जनाएको छ ।

‘‘आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको थियो’’, वस्तीले भने, “केही काम प्राविधिकले गर्नु पर्ने थियो, प्राविधिकहरु भारतबाट ल्याउनुपर्ने र दुई, चार दिनपछि फेरि अर्को प्राविधिक ल्याएर काम गर्नुपर्ने त्यहीमाथि १५ दिन क्वारेन्टिनमा राख्नुपर्ने स्थितिले गर्दा असोजमा आयोजनाको निर्माण सकिएन । अब भने निर्माण कार्यमा सहज भएको र निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन हुनेछ ।’’

आयोजना विसं २०७१ देखि निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौता अनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो ।

सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि गत असोजसम्म म्याद थप गरिएकामा अझै निर्माण सम्पन्न नभएपछि आगामी चैत महिनासम्म जसरी पनि आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य रहेको प्रवर्धक वस्तीले बताए। आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो । निर्माण अवधि लम्बिँदै जाँदा रु चार अर्ब ६४ करोड गत असोज महिनासम्ममा खर्च हुने अनुमान गरिएकामा अझै समय थप हुँदा निर्माण कार्य सम्पन्न हुँदा अझै बढी रकम लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँध स्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत् गृहमा झारिने आयोजना प्रवर्धक वस्तीले बताए । उनका अनुसार यस आयोजनामा १२ दशमलव पाँचका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसा हुने गरि प्रवर्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भैसकेको छ ।

जिल्लामा सो आयोजनासहित दोर्दी करिडोरमा मात्र २३ अर्बभन्दा बढी लागतमा पाँचवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । ती अधिकांश आयोजनाले यस आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन् । त्यस्तै जिल्लाभरि एक दर्जन आयोजना निर्माणाधीन रहेका छन् भने केही आयोजना निर्माण हुने तयारीमा रहेका छन् । जिल्लामा यसअघि बेँसीशहर नगरपालिका–१ दलालमा ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र, मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दीलगायत आधा दर्जन आयोजनाले विद्युत् उत्पादन गरिसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.