विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीद्वारा माघ १० गते नेपाल बन्दको घोषणा

माघ २, काठमाडौँ। विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले माघ १० गते नेपाल बन्द घोषणा गरेको छ।

सो पार्टीको सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिहीबार बिज्ञप्ती जारी गर्दै सामाजिक दलाल पुँजीवादी सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न पार्टीपङ्क्ति र श्रमिक जनतालाई निर्देशन पनि दिएको छ । महासचिव विप्लवले ओली सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न पनि आग्रह गरेका छन् ।

‘कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीविरुद्ध’ शीर्षकमा महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘२०७७ साल पुस २९ गते दिउँसो ३ बजे हाम्रो पार्टीका केन्द्रीय समिति सचिवालयका कमरेड कञ्चनलाई सामाजिक दलाल पुँजीवादी सरकारले पार्टी काममा खटिरहेको बेला ललितपुरबाट गिरफ्तार गरेको छ । उहाँसँगै ब्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि पुलिसले गिरफ्तार गरेको छ । सर्वप्रथमतः हामी कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीको कडा विरोध एवम् घोर भत्र्सना गर्दछौँ ।’

महासचिवको वक्तव्यमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौँ ।’

नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको सङ्घर्षको कार्यक्रम यसप्रकार रहेको छ (माघ ३ गतेः देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा , माघ ७ गते देशव्यापी विरोध प्रदर्शन , माघ ९ गते देशव्यापी मशाल जुलुस, माघ १० गतेः नेपाल बन्द ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.