बनेपामा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया सुरु

माघ १, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१०, भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (ईआईए) र ईआईए बोलपत्रको प्रक्रिया सुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ ।

बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम सुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए । ‘‘भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ । त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछनु,’’ उनले भने । उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हुनेछ । इन्डोरमा अस्पताल, प्रहरीचौकी, कारागार, ठूला भवनका भित्री भाग देखिनेखालका तथा प्रोटेबल सेटहरू निर्माण गरिने अध्यक्ष दाहालले बताए । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण निर्माण हुने योजना बनाइएको छ ।

‘मिनी फिल्मी सिटी’को अवधारणा लिइएको यस योजनाको जमिनका लागि वन मन्त्रालयमा कागजात पुगेको र वातारणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने काम अघि बढाइएको हो । स्टुडियो निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । ‘‘बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ । यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो,’’ उनले भने । चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डीपीआर बनाई काम सुरु गरिने जनाइएको छ ।

‘‘नेपालमा हाल अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौँ,’’ अध्यक्ष दाहालले भने । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.