सार्वजनिक जग्गा दुरुपयोग गरेको अभियोगमा २२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई करोड दुई लाख ३३ हजार ६७१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख बुद्धिमान जैसीसहित २२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साबिकको हरिसिद्धि गाविस–१ हाल ललितपुर महानगरपालिका–२ को सिलौटोमा पर्ने कर्मनाशा नामक सार्वजनिक खोला एवम् सो खोलाको आसपासको सरकारी जमीन युरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका कर्मचारीको मिलेमतोमा तोडमोड गरेको पाइएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

नक्साको तोडमोड गरी सार्वजनिक जग्गासमेत प्लटिङ गरी कूल ८ रोपनी १२ आना तीन पैसा दुई दाम सरकारी जग्गा हिनामिना गरेको पाइएको आयोगले स्पष्ट पारेको छ । सरकारी एवम् सार्वजनिक सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने कार्यमा नापी कार्यालयका नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापा मगरको प्रत्यक्ष संलग्नता देखिएको आयोगले जनाएको छ ।

आयोगले उनीहरुसहित मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल र दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेल, युरो हाउजिङका सञ्चालकहरु गुणीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टङ्कबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्ज्वल मानन्धर दोषी ठहर गरेको छ ।

यस्तै काठमाडौं अस्पतालका सञ्चालक डा ईश्वरलाल आचार्य, डा दुर्गामान जोशी र श्रीमती दुर्गेश नन्दिनी भट्टचनविरुद्ध जनही रु दुई करोड दुई लाख ३३ हजार ६७१ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपीहरुलाई बिगो अनुसार हदैसम्मको कारबाहीको माग गरिएको छ । आयोगले अनुसन्धान गरेका अन्य ३३ जनालाई भने सफाइ दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.