नेपालबाट भागे अमेरिकी चिकित्सक

पुस १६, काठमाडौँ । अस्पतालभित्रै चर्च स्थापना गरेर हिन्दु र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रूपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अमेरिकी नागरिक डा. डेल माइकल मोल भागेका छन् ।

कारबाही हुनु २ दिनअगावै ५०६०२०७२१ राहदानी वाहक उनी पत्नी सुशन मोलसहित सोमबार अमेरिका प्रस्थान गरेका हुन् । अस्पतालको वेबसाइटमा उल्लेख भएअनुसार डेल अझै प्रमुख कार्यकारी अधिकृत र पत्नी सुशन सोही अस्पतालकी कर्मचारी हुन् । उनी प्रोजेक्ट विज्ञका रूपमा कार्यरत थिइन् । डेल दम्पती सन् २०१५ डिसेम्बरदेखि अस्पतालमा कार्यरत थिए । शिर मेमोरियल अस्पताल सन् १९६० बाट अमेरिकी नागरिक चार्ल्स जे शिर र उनकी धर्मपत्नी क्यारोलिनका नाममा स्थापना भएको थियो । यो अस्पताल मेरिकास्थित सेभेन्थ डे एडभेन्टिस्ट चर्चको समेत सहयोगमा खोलिएको थियो ।

गृह मन्त्रालयबाट भइरहेको आन्तरिक अनुसन्धान र त्यसपछि पक्राउ पर्न सक्ने सुइँको पाएपछि उनी पत्नीसहित नेपाल छोडेर भागेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको कान्तिपुर दैनिकमा समाचार छ । संविधानको धारा २६ मा ‘कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ’ भनिएको छ । संहिताको दफा २ मा ‘कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन’ भनिएको छ । यस्तो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

सामाजिक सेवाका नाममा युरोप, अमेरिका, अफ्रिका र कतिपय एसियाली मुलुकबाट नेपालमा भित्रिएका गैरसरकारी संघसंस्थामार्फत प्रलोभन र प्रभावमा पारेर धर्म परिवर्तन गराएको आरोप लाग्दै आएको छ । यसलाई बल पुग्ने गरी पछिल्लो पटक शिर मेमोरियल अस्पतालभित्रै योजनाबद्ध रूपमा धर्म परिवर्तन गराएको आरोप बाहिर आएको हो । पक्राउअघि नै भागेपछि अध्यागमन विभागले गृहसचिव महेश्वर न्यौपानेको सिफारिसमा डेललाई ५ वर्ष नेपाल फर्किन नपाउने गरी मंगलबार कालोसूचीमा राखेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.