१६० मेगावाट क्षमताको लाप्चा खोला आयोजनामा १९ अर्ब ६५ करोड लगानी

पुस ८, दोलखा । दोलखामा आयोजनास्थल रहेको कूल १६० मेगावाट क्षमताको लाप्चे खोला जलविद्युत् आयोजनाका लागि स्रोत जुटेको छ । निजी क्षेत्रबाट लगानी हुन लागेको हालसम्मकै ठूलो आयोजनामा नेपालको व्यावसायिक घराना दुगड समूहले लगानी गर्न लागेको हो ।

आयोजना निर्माणमा लागि दुगड समूहले नाशा हाइड्रोपावर प्रालिमार्फत काम अगाडि बढाएको छ । आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुन लागेको छ । आयोजनामा कूल २६ अर्ब २० करोड लगानी हुनेछ । आयोजनामा सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको अगुवाइमा विभिन्न नौ बैंक तथा वित्तीय संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।

सहवित्तीयकरण गरेर उनीहरुले रु १९ अर्ब ६५ करोड लगानी गर्ने सम्बन्धी बहुपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा लगानीकर्ता रहेको नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।

आयोजनामा नेपाल बैंकले रु पाँच अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकले रु तीन अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषले रु दुई अर्ब, राष्ट्रिय वाणिज्य बैंकले रु दुई अर्ब, हिमालयन बैंकले रु दुई अर्ब, लक्ष्मी बैंकले रु एक अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकले रु एक अर्ब, बैंक अफ काठमाडौँले रु एक अर्ब तथा कृषि विकास बैंकले रु एक अर्ब गरी जम्मा रु १९ अर्ब ६५ करोड २५ लाख लगानी गर्ने भएका छन् ।

कर्मचारी सञ्चय कोषका प्रशासक तथा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले यो निजी क्षेत्रद्वारा राष्ट्र निर्माणका लागि गरिएको ठूलो आयोजना भएको र यस आयोजनाको सफलतासँगै अन्य आयोजनामा लगानी गर्न सकिएको बताए । नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले साथ दिएकामा खुसी व्यक्त गरे। उनका अनुसार २०७९ साउनसम्ममा सो आयोजनाले व्यापारिक रुपमा विद्युत् उत्पादन शुरु गर्नेछ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.