पुस १, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जागिर लगाइदिन्छु भन्दै ९४ जनालाई ठग्ने सर्लाहीका रामसोबर साह अझै फरार छन् । गौशालाका स्थानीय समुदायलाई ठगेका साहको खोजी भइरहेको गौशाला प्रहरी कार्यालयले जनाएको छ ।
उनले ९४ जनालाई ठगेको भने पनि सयभन्दा बढीलाई ठगेको हुनसक्ने कार्यालय प्रमुख (डीएसपी) जितेन्द्रकुमार बस्नेतले बताए । उनका अनुसार कोभिड १९ का कारण लकडाउन भएकाले अपराधीले लामो समयसम्म अपराध लुकाएको र थप अरुलाई पनि ठग्न बल पुगेको हो । साहले सयौंलाई ठगे पनि उनीविरुद्ध ३४ वटा मात्र मुद्दा दायर भएको डीएसपी बस्नेतले जानकारी दिए । साहसँगै साझेदारी (पार्टनरसिप) गरेको आरोपमा जाहेरी परेको सरिता राजवंशी भने सोही दिनदेखि प्रहरी हिरासतमै छिन् । प्रहरीले अभियुक्तलाई २५ दिनसम्म हिरासतमा राख्न पाउँछन् । त्यसपछि भने मुद्दा अदालतमा जान्छ । राजवंशीविरुद्ध साहका लागि थप ६० जनासँग जागिर दिने भन्दै पैसा उठाएको आरोप छ । राजवंशी आफैं पनि साहबाट पीडित हुन् । ठगीका क्रममा साहले पहिलोपटक राजवंशीकै छोरालाई विमानस्थलमा जागिर लगाइदिन ६५ हजार रुपैयाँ लिएका थिए । साथै उनले नियुक्तिपत्रसमेत दिएका थिए ।
नसिमा बानु कपाली जसले साहलाई पहिलोपटक राजवंशीसँग चिनाइदिएकी थिइन्, उनीविरुद्ध कुनै मुद्दा नपरे पनि मिसिलमा उनको नाम उल्लेख भएअनुसार अनुसन्धानका क्रममा तानिने प्रहरीले जनाएको छ । यस्तै, साहले चढ्ने सरकारी मोटरसाइकलदेखि जागिर खान मेडिकल गर्नुपर्छ भन्ने सबैबारे विस्तृत छानबिन भइरहेको प्रहरीको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थलका शाखा अधिकृत सुरेशकुमार महतो उर्फ रामसोबर साहले गौशला क्षेत्रमा बस्ने सर्वसाधारणलाई ठगेका थिए । उनले प्रतिव्यक्ति सरकारी जागिर लगाइदिने भन्दै ६५ हजारदेखि एक लाख ८० हजार रुपैयाँसम्म ठगेका थिए ।

