भीम लामा,
मंसिर ८, काठमाडौँ । कोदो र मकै मात्र फल्ने ठाउँ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ७, घंगारु डाँडामा अहिले भने आधुनिक कृषि प्रणाली मार्फत गोलभेँडा लगायत थुप्रै तरकारी तथा विरुवाहरु फल्न थालेको छ ।

मेहिनत र लगनशीलताले व्यक्तिलाई सफलतातिर डो¥याउने सत्यतासंगै समाजलाई आर्थिक आम्दानीको स्रोत बनाउन थालेका छन् सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ७ स्थित घंगारु डाँडाका रोहितमान दोङ तामाङ । १५ वर्षपछि आफ्नो गाउँ फर्केर ग्रामिणी कृषिको सोच साँचेर बलियो आत्मविश्वासका साथ अगाडी बढेका तामाङ जहाँ गएपनि दुःख गर्नुपर्ने बताउँदै आफ्नै ठाउँमा पहिलो पटक दुःख गर्दाको मिठो फल पाउनेमा आशावादी छन् ।

केही पनि नहुने पाँखामा एक पटक प्रयास गरौँ भनेर हिम्मात कसेका तामाङलाई सुरुवातीको दिनहरुमा मनलाई खिन्न बनाए पनि पछिल्लो समयमा गोलभेडा सप्रिन थालेपछि निकै जोश र हौसला बढेको बताएका छन् । सुरुसुरुमा गाउँलेहरुले कोदो मात्र खेती गरिरहने ठाउँमा एक्कासी गोलभेँडा फलाउन थालेपछि सिंगो गाउँले नै उनको कामलाई प्रशंसा गर्न थालेका छन् । मान्छेले गर्न चहायो भने जस्तोसुकै ठाउँमा हुने रहेछ भन्ने उदाहरणको रुपमा दुवाचौर नमूना कृषि फर्ममार्फत काम गरेको रोहित तामाङ बताउँछन् । जति काम गर्दै गयो त्यत्ति नै अनुभव पनि हुने बताएका उनी गोलभेँडा खेतीमा हुने चुनौती र समाधानतर्फ सचेत छन् । युवाहरुलाई विदेश पालयन हुनेबाट रोक्नुपर्छ भन्ने सोँच लिएर आफ्नो व्यवसाय सुरु गरेको रोहितले स्थानीय युवाहरु समेटेर ह्याङ्ला ग्योई ह्युल कृषि समूह समेत गठन गरि व्यवसायिक रुपमा खेती गर्ने उदाहरणीय काम समेत थलानी गरेको बताए ।

कोरोना महामारीसंगै नेपालमा भएको लकडाउनको समयलाई सदुपयोग गर्न केही नौलो काम गरौँ भन्ने सोँचका साथ गाउँ पसेका रोहित तामाङले आफ्नै भाई र ७६ वर्षिय मामा ठूलोमान तामाङको सहयोगमा गोलभँेडा लगायत थुप्रै आर्थिक आम्दानीका स्रोत भएका जडिबुडि खेती गरेका छन् । ७६ बर्षिय ठूलोमान यस अघि ६ बर्ष कृषि सम्बन्धि अनुभव बढुलिसकेको बताउँदै गाउँमा आफ्नै भानिजले गरेको कामलाई सहयोग पु¥याउन निकै खुसीका साथ खटिरहेका छन् । रोहितकै कामबाट प्रभावित भएर गाउँका प्रत्येक घरधुरीले खोरिया बनाएर तरकारी खेतीको सुरुवात गरेको ठूलोमान तामाङले सुनाए । बढि भए बेचाउला थोरै भए आफै खाउला भन्दै तरकारीको खेती गर्न लागेको उनले बताए ।

रोहितले माटो र हावापानी अनुसार आफ्नो ठाउँमा टिमुरको पनि सम्भावना देखेको कारण करिब १५० रोपनी क्षेत्रफलमा ११ हजार २ सय विरुवा लगाएको बताएका छन् । टिमुर र तरकारी खेतीको प्रयोजनका लागि आफैले बाख्रा फर्म समेत सञ्चालन गरेका छन् । टिमुर खेतीका लागि समुन्द्र सतहदेखि १५०० फिट माथीको जमिन उपयूक्त हुने र फल दिनका लागि २ देखि ३ बर्षभित्र समय लाग्ने युवा कृषक रोहितमानले बताए ।

अनुदानको नाममा कागजात मिलाएर सरकारी ढुकुढी रित्याउने माफिया र मिल्काउने नक्कली कृषक बारे गहिराईमा अनुसन्धान नगरे वास्तविक कृषकलाई अन्याय हुनेछ । सरकारी अनुदान स्वरुप कृषकले गरेको व्यवसायमा भौतिक संरचनामा लगानी गरि अनुदानको सहि सदुपयोग होस् । सरकारको कृषि अनुदान तथा सहुलियत ऋणमा पनि पहुँचवाला व्यक्ति र सहर केन्द्रित नहोस् । रोहित जस्तै वास्तविक कृषकहरुलाई सहुलियत ऋण तथा अनुदानको व्यवस्थापन गर्न सके पक्कै पनि वर्तमान सरकारले ल्याएको समृद्ध नेपालको नारा साकार हुनेछ ।

