साउन १५, सिन्धुपाल्चोक । सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्न हिँडेका कांग्रेस कार्यकर्ताले बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि आक्रमणको प्रयास गरेका छन् ।
काठमाडौंबाट बाह्रविसे जाँदै गरेका शेर्पालाई जुरेपहिरो गएको स्थानमा जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले आक्रमणको प्रयास गरेको हो । पहिरोमा फसेको गाडी पार गराउने विषयमा कांग्रेस कार्यकर्ता र मेयरबीच सामान्य भनाभन भएको थियो । भनाभनकै बीचमा कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेको शेर्पाले बताए । ‘पहिरोमा फसेको गाडी मैले नै तानेर निकाल्नु पर्छ भनेर जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले निउ खोजे ।’
शेर्पाले भने, ‘त्यतिकैमा स्थानीय बालकृष्ण बस्नेत नेतृत्वको कांग्रेस समूहले ममाथि आक्रमणको प्रयास गर्यो ।’ बस्नेत स्थानीय तह निर्वाचनमा शेर्पामा प्रतिस्पर्धी थिए । कांग्रेस कार्यकर्ताले आफूलाई ज्यानमार्ने धम्की समेत दिएको शेर्पाले बताए ।

