जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनका लागि कार्यढाँचा

मंसिर ३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।

मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेको हो । हाल अनलाइन लगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय खोल्ने आधार तयार गरेको हो ।

कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरण लगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । मङ्सिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदैछ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय ९होम सेन्टर० का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ । परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशङ्का पैदा भएकाले प्रत्यक्ष परीक्षा हुन लागेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.