कात्तिक २६, जनकपुरधाम । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघिय सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरि रहेको आरोप लगाएका छन् ।
जसपा निकट युवा संघले जनकपुरधाममा मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौती दिने चेष्टा गरेको उल्लेख गरे ।मुलुक कोरोना महामारीको संकट झेली रहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनु पर्नेमा सरकार त्यसबाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागि दुर्भाग्य रहेको बताए ।
जनताको जिउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको उल्लेख गर्दै उनले आफुहरु सरकारविरुद्ध सबै मोर्चामा लडने उल्लेख गरे । आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेद रहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको उल्लेख गर्दै अध्यक्ष यादवले शिक्षित र सक्षम युवाहरुलाई नेतृत्व गर्ने समय आइसकेको उल्लेख गरे ।
विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेको उल्लेख गर्दै अध्यक्ष यादवले मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडी बढन आग्रह समेत गरे । समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले बोलेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेको करिब तीन सय युवाहरुलाई प्रमुख अतिथ यादवले पार्टीमा स्वागत गरेका थिए ।राजधानीबाट

