आज फाल्गुनन्द जयन्ती मनाइँदै, प्रदेश नं. १ मा सार्वजनिक विदा

कात्तिक २५, विराटनगर । समाज सुधारकका रूपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार ९आज० किराँत धर्मावलम्बीहरूले विशेष महत्त्वका साथ मनाउँदैछन्।

नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणासमेत गरेको लिङ्देनका जन्मस्थानमा जयन्तीका दिन विशेष पूजासहितका कार्यक्रम राखिने गरिन्थ्यो । तर यो वर्ष कोरोना महामारीका कारण सामान्य पूजा र कार्यक्रम मात्र गर्ने तयारी गरिएको छ। किराँतीहरूले फाल्गुनन्दलाई महागुरुको रूपमा पुज्ने गरेका छन् । लिङ्देनको जन्मजयन्ती परेकाले मंगलबार प्रदेश १ मा सार्वजनिक बिदा दिइएको छ। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमलबहादुर थापाले फाल्गुनन्द दिवसको दिन प्रदेश भरी बिदा दिने निर्णय गरेको प्रदेशको राजपत्रमा नै उल्लेख गरिएको जनाए।

फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते आइतबार हालको प्रदेश १ को इलामस्थित माङ्सेबुङ गाउँपालिका २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो। फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनले किराँत धर्मावलम्बीहरूको मुन्धुमलाई लिखित रूपमा ल्याउन सुरुआत गरेका थिए।

उनको पहलमा पाँचथरको चोकमागुमा १९८८ सालमा गरिएको बृहत् भेलाले ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ।

करिब ९ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको छ। २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनले महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैंगिक समानताको पनि वकालत गरेको मानिन्छ।अन्नपूर्णबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.