बागलुङ बाढी–पहिरो दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

कात्तिक १७, बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो ।

लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । “हामीले खोजी रोकेका छैनौँ, खोज्ने प्रक्रिया बद्लिएको छ”, प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भने, “सबै जानकारीसहितको विवरण देशभर पठाएका छौँ, सबैको अवस्था अज्ञात छ ।”

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतकसरहको राहत उपलब्ध गराएको छ । भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रक्रिया शुरु भएको छ । बाढीपहिरोमा परी ढोरपाटन नगरपालिका–९ बोबाङका ३१ वर्षीय जीतबहादुर घर्ती मगर, नौ वर्षीय शेसन विक, चार वर्षीय रवि विक, २२ वर्षीय मनकुमारी विक, २१ वर्षीया टेकमाया विक, १० महिनाकी तिर्सना विक र १५ वर्षीया मनिषा विक बेपत्ता छन्।

त्यस्तै, सोही ठाउँकै ५५ वर्षीया कौशिला पुन, २६ वर्षीय विलास पुन, ५५ वर्षीया तुलमती घर्ती, पाँच वर्षीय विराज विक, १० महिने शिशु उमिसा विक, तीन वर्षीया करली पुन, आठ वर्षीय मोहन विक र १२ वर्षीया समुन्द्र विक बेपत्ता छन् ।

बेपत्तामध्ये अधिकांश एकाघरका परिवार छन् । बाढीपहिरोमा बेपत्ता भएका ३८ जना मध्ये २२ जनाको शव फेला परेको थियो भने एक जना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का १३० घरमा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.