कोरोना भाइरस: ट्रम्पका कान्छो छोरालाई पनि भएको थियो सङ्क्रमण

असोज २९, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन्।

एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड– १९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्। तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्। राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण भएको थियो। ह्वाइट हाउसका अन्य कर्मचारीमा पनि सङ्क्रमण पाइएको थियो। तर अहिले ट्रम्प र मेलानिया दुवै निको भइसके।

लक्षण र सुझाव
आफूमा पनि कोभिड– १९ का साधारण लक्षण देखिएको उनले बताइन्। मेलानियाले जीउ दुखेको, खोकी लागेको र थकान अनुभव भएको बताएकी छन्। उनले अरूलाई सकेसम्म स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएकी छन्। उनले सन्तुलित आहार र ताजा हावा लिन अनि करुणाभाव प्रदर्शन गर्न सुझाव दिएकी छन्।

ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित ‘कोभिड–१९ सँग मेरो व्यक्तिगत अनुभव’ शीर्षकको छोटो लेख लेख्दै मेलानियाले छोरा ब्यारनको सङ्क्रमणबारे उल्लेख गरेकी हुन्। उनलाई र राष्ट्रपति ट्रम्पलाई दुई साताअगाडि सङ्क्रमण देखिनासाथ ‘स्वाभाविक रूपमा मेरो ध्यान तत्काल छोरातिर गयो।’ ब्यारनको परीक्षण गर्दा सुरुमा नेगेटिभ परिणाम आउँदा निकै राहत अनुभव भएको तर फेरि अर्को दिन कस्तो परिणाम आउला भन्ने चिन्ता परेको उल्लेख गरिन्। ‘फेरि गरिएका परीक्षणमा पोजिटिभ नतीजा आएपछि मेरो मनमा रहेको डर यथार्थमा परिणत भयो,’ मेलानियाले लेखेकी छन्।

‘जे होस् हामी तीनैजना एकै पटक यो अवस्थाबाट गुज्रिनुपर्दा भने हामीले एकअर्काको हेरचाह गर्न पायौँ अनि सँगै समय बिताउन पायौँ,’ उनले लेखेकी छन्।अस्पतालमा उपचारपश्चात् राष्ट्रपति ट्रम्प भने तीन दिनमा तेस्रो चुनावी र्‍यालीमा सामेल हुँदैछन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.