असोज २७, काठमाडौँ । जग्गा हेर्ने बहानामा कुटपिट गरी चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको हत्या गर्ने तीन जनालाई बौद्ध प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार अर्थात २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीन जनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेका वाईवाको अर्कोदिन ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले हातमा लगाएको दुइ तोला सुनको ब्रासलेट र दुई वटा मोवाइल र १ तोलाको सुनको सिक्री लिएर उनीहरु फरार भएका थिए । फरार उनीहरुलाई महाशाखाले सात दिनपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । वाईवालाई मुख्यगरी कुटपिट गर्ने रमेश तामाङ हुन् । प्रेम तामाङले वाईवालाई समात्न सहयोग गरेका पाइएको एसएसपी थापाले बताए । उनीहरुको काम नै जग्गा हेर्ने निहुँमा लुटपाट गर्ने खुलेको एसएसपी थापाले बताए ।
यस घटनाको उत्कृष्ट अनुसन्धान गरे बापत डिएसपी मिसन थापासहित १५ जनालाई नगद पुरस्कारको व्यवस्था गरेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक दीपक थापाले बताउनु भयो ।

