असोज १७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार (आज) बस्ने भएको छ । बैठक दिउसो ४ बजेका लागि बोलाइएको छ।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन । पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने, नगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन ।
सर्वोच्चले संवैधानिक इजलासमा गौतम सम्बन्धी मुद्दा हेर्दाहेर्दै छ । गौतम सम्बन्धी मुद्दाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि प्रभावित पारेको छ । गौतम र श्रेष्ठलाई सरकारमा सहभागी गराउन चाहन्छन् प्रचण्ड । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि गौतम र श्रेष्ठको पक्षमा उभिएका छन् । उता ओली भने सरकारको नेतृत्व आफूले गर्ने भएकाले सहयोगी हुने नेतालाई सरकारमा लान र राख्न पाउनु पर्ने बताएको स्रोतले जनाएको छ।

