बाघको आक्रमणबाट रौतहटमा एकको मृत्यु, दुई जना घाइते

मनोज तिमलसिना , 

असोज १४, रौतहट । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर छ स्थित चिम्नि टोल निवासी श्याम भन्डारीका २७ वर्षिय संगम भण्डारीको मृत्यु भएको हो । घाइते हुनेमा ३० वर्षिय अशोक भनिने नेत्रबहादुर थापा र ३४ वर्षिय प्रविण भनिने नविन श्रेष्ठ रहेका छन् ।

गत मंगलबार बिहान छ बजे घरबाट नजिकैको जंगलमा घाँस काट्न जाने क्रममा बेपत्ता भएका संगम रात पर्दा समेत नफर्किएपछि बुधबार बिहान खोजीमा गएको प्रहरीले जंगलमा शव फेला पारेको ईलाका प्रहरी कार्यालय,चन्द्रनिगाहपुरले जनाएको छ । मंगलबार विहानदेखि बेपत्ता संगमको खोजीमा राती १४ जना युवाहरु खोजीमा जाने क्रममा लमहा खोला जंगल क्षेत्रमा बाघले थापा र श्रेष्ठलाई आक्रमण गरेको घाइते अशोक थापाले बताउनुभयो । बाघको आक्रमणमा परि थापाको हातपाखुरा र श्रेष्ठको छातीमा चोट लागेको छ ।

अर्का घाइते श्रेष्ठका अनुसार,संगमसहित स्थानीय हरि खड्का,सुदिप थापा,गुन्जबहादुर राना जंगल गएकोमा संगम बेपत्ता हुनुभएको हो । बाघले आक्रमण गरेपछि भाग्ने क्रममा खाल्टोमा हाम फाल्दा आफ्नो ज्यान सुरक्षित भएको हो । घाइतेहरु लाइ राति चन्द्रपुर अस्पतालमा प्राथमिक उपचारार्थ लगिएको थियो । मृतक संगमलाई भने प्रहरीले बुधबार विहान खोजी गर्ने क्रममा कम्मर तलको भाग नै नभएको अवस्थामा मृत फेला पारेको प्रहरीले जनाएको छ । बाघको आक्रमणबाट युवक मारिएपछि डाबरी चिम्नि टोल अहिले शोकाकुल हुन पुगेको छ भने चन्द्रपुर जंगल आसपासको क्षेत्र आतकिंत भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.