नेपाली साहित्यका घिमिरे विश्वसाहित्यलाई देखाउन मिल्ने प्रतिमान हुन् – रमेश शुभेच्छु
रमेश शुभेच्छु युवा पुस्तका सक्रिय कवि, समालोचक एवम् साहित्यिक पत्रकार हुन् । उनी अहिले साहित्य सागर डट नेटका सम्पादकका रुपमा काम गरिरहेका हुन् । भर्खरै साहित्य सागर डट नेटले माधव घिमिरे विशेषाङ्क लोकार्पण गरेको छ । यस विशोषाङ्कलाई माधव घिमिरेको १०२ औँ जन्मजयन्तीको अवसर पारेर सर्वजनिक गरिएको हो । हामीले यस हप्ताको विशेष साहित्यिक सामग्रीका रुपमा साहित्यसागरका सम्पादक रमेश शुभेच्छुले प्रायः सबै महादेशबाट सहभागी साहित्यकारलाई सम्पादकका रुपमा गरेको सम्बोधनको उतार समेटेका छौँ । यस सामग्रीले माधव घिमिरेका विविध पक्षलाई समेटेको छ भन्ने हाम्रो विश्वास छ । –सम्पा
धन्यवाद साहित्य सागरका प्रबन्ध सम्पादक एवम् अग्रज साहित्यकार सुरेन उप्रेती सर
आदरणीय सभाध्यक्ष साहित्यसागरका अध्यक्ष मणि नेपाली पनेरु ज्यू
प्रमुख अतिथि आदरणीय नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गङ्गाप्रसाद उप्रेतीज्यू
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ, विश्वविद्यालयका प्राध्यापक,
एन आर एन ए प्रतिनिधिहरु
अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष, वरिष्ठ उपाध्यक्षलगायत प्रतिनिधिहरु
स्वदेश विदेशका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरु
विशेषाङ्कमा लेखरचना पठाएर सहयोग पुर्याउनुहुने लेखक बन्धुहरु
साहित्य सागरका सल्लाहकार सरहरु,
विभिन्न मुलुकबाट प्रतिनिधिमूलक ढङ्गले उपस्थित आदरणीय अग्रजहरु,
घिमिरे विषयमा विद्यावारिधि गर्नुभएका डक्टरसाहवहरु,
घिमिरे विषयमा दर्शनाचार्य र स्नातकोत्तर तहमा शोध गर्नुभएका शोधार्थीहरु,
कार्यक्रममा सहभागी घिमिरेका शुभचिन्तकहरु, साहित्यानुरागी महानुभावहरु सबैमा हार्दिक न्यानो अभिवादन । आज हामी घिमिरेको शोककै नजिकबाट उनको १०२ औँ जन्मजयन्ती मनाइरहेका छौँ । उहाँ आफ्नो समयका ज्येष्ठ श्रेष्ठ नेपाली माटो र मुटुका कवि हुनुहुन्थ्यो । उहाँको यही गुण र सामथ्र्यका कारण आज कृतिशेष घिमिरेका नाममा हामी यसरी जुटिरहेका छौ । आदरणीय राष्ट्रकवि, आदरणीय नेपाली कविताका शिखर व्यक्तित्व माधव घिमिरेज्यूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
सम्पादकीय
हामीले एक हप्ताको छोटो तयारीबाट माधव घिमिरे विशेषाङ्क निकाल्न सफल भएका छौँ । यसको सम्पादकीयलाई घिमिरेको कृतित्त्व, उनको राष्ट्रकवि उपाधिको उपादेयता र यस विषयमा उठेका प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरेका छौँ । घिमिरेको राष्ट्रकवि पदवी नेपालका कविशिरोमणि र महाकविको पदवी जस्तै घिमिरेमै सीमित रहन्छ कि भारत र अन्य मुलुकमा जस्तो हस्तान्तरित हुँदै जान्छ ? यस पदविको पात्रता वा उपादेयता के ? आदि विषय उठाएका छौँ । यहाँहरुले पत्रिका पढ्ने क्रममा थप कुरा थाहा पाउनुहुने छ । सम्पादकीय हाम्रो पत्रिकाको आमुख भएकाले यहाँहरुले हेर्नुहुने नै छ । हामीले यस विषयमा बोल्नु सान्दर्भिक हुँदैन ।
समीक्षा
माधव घिमिरे विशेषाङ्कमा छोटो तयारीबाट पनि समीक्षातर्फ विशिष्ट लेखकका विशिष्ट समीक्षाहरु समेट्न सकेका छौँ । यहाँ प्रा.डा. माधव पोखरेल, प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, डा. विष्णु के.सी, डा. रामप्रसाद ज्ञवाली, डा. बच्चुराम भट्टराई, डा. जयन्ती रुपाखेती र रमेश शुभेच्छुका समीक्षा रहेका छन् । यी समीक्षाहरुले घिमिरेको जीवनी व्यक्तित्व र कृतित्वका बहुआयाम उजागर गरेका छन् । यी सामग्रीले कवि घिमिरे,काव्यकार घिमिरे, नाटककार घिमिरे, बालसाहित्यकार घिमिरे र उहाँको समग्र व्यक्तित्वलाई मूल्याङ्कन गर्ने सामथ्र्य राखेका छन् । यी समीक्षा घिमिरेकै विषयमा विद्यावारिधि गर्ने विद्वान् र घिमिरेका गहन अध्येताबाट तयार पारिएका हुँदा यी सामग्री त्यत्तिकै आधिकारिक पनि छन् भन्ने लागेको छ ।
यहाँ समेटिएका लेख निबन्धमध्ये माधव पोखरेलको लेखले घिमिरेको कवित्वलाई राष्ट्रकवि मात्र होइन विश्वकविका रुपमा मूल्याङ्कन गर्नुभएको छ । अन्य लेखकहरुले उहाँका विधाविधामा केन्द्रित भएर र कृतिमा केन्द्रित भएर गरिएका समीक्षा भए पनि घिमिरेको समुच्चा मूल्याङ्कन र तुलना प्रतितुलना गर्नुभएको छ । करिब हप्ता दिनको बिचमा विशिष्ट विद्वान्हरुबाट यति महत्वपूर्ण सामग्री प्राप्त गरेकामा हामी खुसी छौँ । यी सामग्रीबाट घिमिरेको सिर्जन सामथ्र्यका विषयमा थप अध्ययनका क्षितिज उघ्रने हाम्रो विश्वास छ ।
संस्मरण÷निबन्ध
हामीले घिमिरेसँग सम्बन्धित घिमिरेकै जीवनलाई विषय र विम्ब बनाइएका र घिमिरेका दर्शनलाई अँगालिएका सामग्रीहरु उल्लेख्य मात्रामा प्राप्त गरेका छौँ । यहाँ समेटिएका संस्मरणका संस्मरणकार प्रा. राजेन्द्र सुवेदी, .डा. कृष्णप्रकाश श्रेष्ठ, प्रा. मोहन सिटौला, डा. लेखप्रसाद निरौला, गोविन्द गिरी प्रेरणा, मणि नेपाली पनेरु, सुरेन उप्रेती ,लालगोपाल सुवेदी आदि स्रष्टाका सिर्जना समेटिएका छन् । यी संस्मरणात्मक निबन्धले नेपाली साहित्यमा घिमिरेले पुर्याउनुएको योगदानका बहुमुखी पक्षहरु समेट्न सकेको हामीलाई विश्वास छ । यी संस्मरणात्मक निबन्धमध्ये राजेन्द्र सुवेदीको संस्मरण घिमिरेका कृतित्वबाट सिङ्गो नेपाली साहित्यमाथि पुगेको योगदानलाई समेटेको छ । उहाँले घिमिरेको शालिग्राम व्यक्तित्वलाई निकै सूक्ष्म रुपले केलाउनुभएको छ । घिमिरेका जीवनमा भएका प्राप्ति अप्राप्तिहरु प्नि खोतल्नुभएको छ ।
हामीले प्राप्त गरेका र प्रकाशन गरेका लेखमध्ये कृष्णप्रकाश सरको लेखले घिमिरेको अन्तराष्ट्रियकरणका विषयमा आधिकारिक सामग्री दिएको छ । श्रेष्ट सरले घिमिरेका कुन कुुन रचना रुसी भाषाका कुन कुन पत्रिका र कृतिमा प्रकाशित छन् ? घिमिरेको अन्तराष्ट्रिय छवि के हो ? उनलाई रुसका पाठकले कसरी पढेका छन् ? घिमिरेको रुस भ्रमणका समाचारहरु त्यहाँका कुन कुन पत्रिकामा कसरी प्रकाशन भएका थिए र तिनका सार के थिए जस्ता पक्षहरु समेट्नुभएको छ ।
प्राध्यापक मोहन सिटौलाको लेख निकै बौद्धिक छ । उहाँले घिमिरेको कृतित्वलाई विश्वसाहित्यका विविध कविसँग तुलना गर्दै उहाँसँगका निकट मन छुने संसमरणहरु समेट्नुभएको छ । उहाँले घिमिरेका कृतिको अनुवाद र अन्य विविध पक्षलाई समेट्नुभएको छ ।
कविता
हामीले घिमिरे विशेषाङ्कका लागि झण्डै दर्जन कविका कविता समेट्न सफल भएका छौँ । यस समयका प्रतिष्ठित कविहरु भूवनहरि सिग्देल, सीताराम अधिकारी, ठाकुर शर्मा भण्डारी, मेघनाथ बन्धु, डम्बर घिमिरे, गीता सापकोटा, ईश्वरी भट्ट,दुर्गा दाहाल आदि कविहरुका घिमिरेलाई नै विषय र विम्ब बनाइएका कविता समेट्न सकेका छौँ । सबै कविहरुप्रति सम्पादन मण्डलका तर्फबाट आभार चढाउँछौँ । घिमिरे केन्द्रित यस अङ्कमा हामीले एउटा गजल पनि समेटेका छौँ । विपित अगस्तिको गजलले घिमिरे र उनको कृतित्वलाई विम्ब बनाएको छ ।
तस्बिर साहित्य
हामीले घिमिरे विशेषाङ्कमा का केही रचना र घिमिरेसँग घिचिएका तस्बिरहरु पनि समेटेका छौँ । एउटा तस्बिर साहित्य शीर्षकको स्तम्भमा डा.शैलेन्दुप्रकाश नेपाल, लालगोपाल सुवेदी र डा. बच्चुराम भट्टराईलगायतका घिमिरेसँग खिचिएका तस्बिरको खुलुवा भएका सामग्री पनि समेटेका छौँ । हामीलाई यस्तो स्तम्भ सहयोगी हुने र तस्बिर सङ्कलनमा सहायक हुने विश्वास छ ।
माधव घिमिरेका प्रति यो हाम्रो सानो प्रयास हो । हामीले संकलन गरेका लेख र हाम्रो सम्पादकीयले घिमिरेलाई केही हदसम्म चिनाएको छ भन्ने हाम्रो ठहर हो । यसमा लेख रचना पठाएर हामीलाई हौसला दिनुहुने सबै लेखकहरुप्रति आभारी छौँ । हामीले यसलाई निरन्तरता दिने आधार विशिष्ट लेखकका विशिष्ट लेख रचना नै हुन् ।
हाम्रो पत्रिकाको लोकार्पण र घिमिरे जयन्तीका सन्दर्भमा हुनुलाई हामीले घिमिरेकै देन ठानेका छौँ । यहाँ देशविदेशबट यतिका व्यक्तित्वहरुको सहभागिता हुनुलाई हामीले उपलब्धिका रुपमा लिएका छौँ । एक किसिम यो सम्मेलन अन्तरमहादेशीय सम्मेलन बनिरहेको छ । यहाँ फरक देश होइ फरक महादेशमा बस्ने नेपालीको प्रतिनिधित्व छ । यहाँहरुले यो पत्रिका भोलिबिहानबाट आफ्नो मोवाइल वा ल्यापटपमा हेर्न पाउनुहुने छ । यसमा केही प्राविधिक भाषिक, सञ्चार आचारका पक्ष सुधार गर्न बाँकी होला ? यहाँहरुको सुझाव सल्लाहअनुसार हामी यसलाई अझ व्यवस्थित र विकसित बनाउँदै लैजाने छौँ । मेरो साहित्यिक पत्रकारिताको अनुभवमा ई साहित्यिक पत्रिका आजको आवश्यकता पनि हो । यस बोधले हामीलाई घच्घच्याएकै कारण यो पत्रिकाको जन्म भएको छ । अहिले यसको महारथि मणि नेपाली पनेरु सर हुुनुहुन्छ । सुरेन उप्रेती सर यसको विकासा समर्पित भएर लाग्नुभएको छ । म सकेसम्म यसको सम्पादन पाटोमा राम्रो गर्ने प्रयत्नमा छु । हामी सुरुमै छौँ । हामी यहाँहरुको सल्लाह, सुझाव र सहयोगको पनि अपेक्षा राख्दछौँ ।

वास्तवमा माधव घिमिरेको शोक परेको महिना दिन पनि भएको छैन । एक किसिम यस समाहोरलाई शोधसभा बनाउन सकिने अवस्था पनि थियो । तर हामीले त्यो शोकलाई शक्ति र सिर्जनाका उर्जामा परिवर्तन गरेर जन्मजयन्ती मनाएका छौँ । घिमिरे नेपाली माटोका, नेपाली जनबोलीका नेपाली बालबोलीका र नेपाली हृदयका कवि हुनुहुन्थ्यो । दर्शनलाई कविता बनाउन सक्ने, इतिहास र पुराण एवम् लोकमिथकलाई हाम्रै जनजीवनका घटना जसरी कविता काव्य र नाटक बनाउन सक्ने सामथ्र्य एक किसिम अपूर्व देखिएको छ । घिमिरे नेपाली साहित्यका विश्वसाहित्यलाई देखाउन मिल्ने प्रतिमान हुन् । यस अर्थमा पनि हामी घिमिरेलाई सम्झिइरहेका छौँ । आज देश विदेशका उहाँका पाठक र अनुयायी हरु उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छौँ । उहाँको सिर्जनाको कदर गरिरहेका छौँ ।
यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यूको उपस्थितिले हामीलाई थप उत्साही बनाएको छ । यहाँ डा.माधव पोखरेल,प्राज्ञ डा. हेमनाथ पौडेललगायत धेरै विद्वान्हरुको उपस्थिति छ । देशविदेशका प्रतिनिधिहरुको सहभागिता छ । घिमिरेविषयक औपचारिक अनुसन्धाता र विद्यावारिधि प्राप्त व्यक्तित्वहरुको उपस्थिति छ । यहाँहरु सबैमा संस्थाको तर्फबाट र साहित्य सागरको सम्पादकका तर्फबाट पनि हार्दिक स्वागत अभिवादन गर्दछु । र आगामी अंकमा यहाँहरुका रचना समेट्न पाउने अपेक्षासाथ विदा लिन्छु ।
धन्यवाद ।

