म्याग्दीमा ५० जना डेंगुका बिरामी फेला

भदौ २८, म्याग्दी । म्याग्दीमा डेंगु सङ्क्रमण बढेको छ । गत वैशाखयता ५० जना डेंगुका बिरामी भेटिएको बेनी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यस वर्ष जिल्लाका धवलागिरि गाउँपालिकाबाहेकका पाँच वटै स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । भदौ ११ गतेपछि जिल्लामा ११ जनामा डेंगु सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।

अस्पतालको तथ्याङ्क अनुसार हालसम्म मालिका, रघुगङ्गा, मङ्गला र अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकामा डेंगुको सङ्क्रमण देखिएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणको समस्या देखिएपछि बिरामीको नमूना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकामा डेंगु नै पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र बान्ता आउनु डेंगुका लक्षण हुन् । डेंगु भाइरसले सङ्क्रमित लामखुट्टेले टोकेको तीनदेखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ । बेनी अस्पतालका डा मनोज घिमिरेले भने, “सरसफाइमा ध्यान दिने, लामखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेंगुबाट जोगिने प्रमुख उपाय हो ।”

बढ्दो गर्मी तथा पानी परेपछि म्याग्दीमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका हुन् । डेंगु सङ्क्रमित बढेपछि जिल्ला उच्च जोखिममा परेको छ । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगु रोग सार्ने गर्दछ । यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने, सुत्ने बेलाको समयमा झुलको प्रयोग गर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रममा जोड दिनु पर्ने बेनी अस्पतालका मेडिकल अधिकृत डा घिमिरेको भनाइ छ ।

मुलुकमा डेंगुको पहिलो रिपोर्टेड केस सन् २००४ मा चितवनमा एक विदेशीमा देखिएको थियो । यो सङ्क्रमणको पहिलो प्रकोप सन् २००६ मा चितवनमै देखिएको थियो । सन् २०१९ मा सुनसरी, मोरङ, झापा, चितवन, कास्की र मकवानपुर जिल्लामा डेंगु महामारीका रूपमा फैलिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.