(रमेश शुभेच्छु सक्रिय स्रष्टा एवम् द्रष्टा हुनुहुन्छ । उहाँको वाक्कला पनि त्यत्तिकै प्रखर छ र अध्ययनको क्षेत्र पनि त्यतिकै फाँटिलो छ । अहिले साँझ छन्दमञ्जरीको कविता वाचन शृङ्खलामा उहाँले प्रस्तुत गरेको मन्तव्यलाई उतार गरी हामीले यस साताको विशेष साहित्यिक सामग्रीका रुपमा प्रस्तुत गरेका छौँ । सम्पा.)
कार्यक्रमका मियो आदरणीय गुरु भुवनहरि सिग्देलज्यू
कार्यक्रम संयोजक हरि खनालज्यू
समीक्षक ढुँडीराज अर्यालज्यू
कार्यक्रम सञ्चालकज्यू
कार्यक्रममा सहभागी आदरणीय कविहरु
हार्दिक अभिवादन ।
आजको सन्ध्यालाई नयाँ छन्दका कविता सुनेर मैले विशेष बनाएँ । कवितामय सन्ध्या मनाएँ । मलाई यस कार्यक्रमका संयोजक हरि सरले हिजो नै खबर गर्नुभएको रहेछ । मैले बिहान मात्र सन्देश देखेँ । दिनभरि एउटा कामको समय तालिकामा थिएँ । मैले कुसुमितलतावेल्लिता छन्दमा अभ्यास गरेँ तर प्रयाप्त समय पुगेन । समय नपुगेकाले म अहिले रचना सुनाउन सकिरहेको छैन । यसका लागि आयोजकसँग क्षमा माग्छु । अर्को छन्दको सुनाउन मिल्छ भने म सुनाउँछु । आयोजकहरुले सङ्केत गरिदिनुहुन अनुरोध गर्दछु ।
आज सुनिएका कविताले नयाँ छन्दमा नयाँ स्वाद ल्याएका छन् । यी प्रायः कवितामा कला वा रुप पक्ष केही कमजोर देखिएको मेरो ठहर छ । यद्यपि यो अभ्यास साला हो । आजका कविताले बहुल विषय उठाए । देश, प्रकृति, मानव, महामारी, राष्ट्रिय चेतना आदि नै आजका कविताको मूल भाव र विषय पनि देखियो । यी विषय नै समसामयिक चेतनाका विषय पनि हुँदै हुन् ।
मैले प्राविधिक कारणले कवि सीता सुवेदी पन्थीको कविता सुन्न पाइँन । कविज्यूसँग म क्षमा चाहन्छु ।
पुरुषोत्तम सिग्देलको कविता जाजा कोरोना तँ जा शीर्षकमा प्रस्त’त भएको थियो । यो कविता निकै कलात्मक पनि थियो । म यो कविता सुनिरहँदा निकै आशावादी बनेर सुनुवाइलाई अगाडि बढाएँ । मैले सुनेको त्यो पहिलो कविताले निकै आशाावादी बनाएको थियो । मैले क्रमशः दुर्गा अधिकारी, हरिप्रसाद चौँलागाईँ, जनाद्र्धन अधिकारी धड्कन, बालमुकुन्द रेग्मी, पूर्ण पन्त, त्रिलोचन आचार्य, हरि खनाल, जगदीश्वर पोखरेल, बमबहादुर थापा जिताली, ढुण्डिराज अर्याल, पूर्णदेवी न्यौपाने, उद्धव प्याकुरेल र भूवनहरि सिग्देलसमेत दर्जनअधिक कविता सुनेँ ।
मलाई यो शृङ्खलाका कविता सुनेर केही खुसी लाग्यो । केही सिकाइ भयो । केही समस्या पनि देखिए । समस्या के भने, हामीले कमजोर लेखन र कमजोर प्रस्तुति गर्यौँ भने छन्दको विरोध गर्नेहरुले मौका पाउँछन् । हामीलाई हाम्रा साना कमजोरीमा टेकेर आलोचना गर्छन् । यस्तो आलोचनाबाट बच्न सकेसम्म हामीले कवितालाई लयको कवितालाई लयका चारहरफ मात्र भन्दा रुपक सामथ्र्य सम्पन्न बनाउन आवश्यक छ । मैले बुझेसम्म कविता थोरैमा धेरै भनिने लयात्मक कला हो । कविता एउटै विषय केन्द्रमा लेखिने रचना हो । कविको निस्चित अर्जुनदृष्टि रहनुपर्ने र निसानामै केन्द्रित हुनुपर्ने रचना हो । आजका कविता त्यतातिर केन्द्रित थिए कि थिएनन् । कविहरुले आफै मनन गर्न सकिने पक्ष हो यो पक्ष ।
आजका प्रायः कवितामा कोरोना कहर पनि आयो, देश विदेशको समस्या पनि आयो, माटोको महिमा वा देशभक्ति पनि आयो, राजनीतिक समस्या पनि आयो, प्रेम प्रणय र मानव सम्बन्ध वा मानवता पनि आयो, नारी हिंसाको विषय पनि आयो । यी विषय ठिकै छन् , समसामयिक छन् तर एउटै कवितामा धेरै विषय वा कुरा जोड्ने प्रयत्न गर्दा हामी असफल बन्ने सम्भावना हुन्छ ।
कवितालाई विषय केन्द्रित गर्ने सन्दर्भमा हेर्दा मुक्तक र कवितामा केही फरक हुँदैन । जसरी एउटा मुक्तकमा एउटै विषयको मियोभन्दा टाढा जान मिल्दैन त्यसरी नै कवितामा पनि मियो छोडेर टाढा जान मिल्दैन । जति वरिपरि घुमेर कवितालाई गोलो र डोलो रुपमा प्रस्त’त गर्न सकिन्छ त्यति सफल भइन्छ ।
छन्द मञ्जरी पनि छन्द जागरण अभियानकै एक पाटो हो । एउटा छन्दकै विकासमा लागि रहेको अभियान हो भन्ने बुझिरहेको छु म । यस कार्यक्रममा प्रत्यक्ष सहभागी हुने मौका नमिले पनि अहिलेको युगलाई छन्द जागरणको युग मान्न सकिन्छ । मुक्त लयका कविता लेख्ने कवितले हामीलाई आक्रमण गर्न छोडेको समय हो । हिजो छन्दशैलीका कवितालाई अझ शास्त्रीय लयढाँचाका कवितालार्य बाहुनको कविता, सिलोके कविता, छन्देहरुका कविता आदि भनेर होच्याइन्थ्यो । अहिले आएर हामीलाई प्रविधिले पनि साथ दिएको छ । युटुवभरि छन्दका कविता छाउन थालेका छन् । सर्जक पनि खारिँदै तिखारिँदै आएका छन् र वाचकहरु पनि बढिरहेका छन् । छन्दका सङ्कलनहरु पनि आउँदैछन् । साप्ताहिक र मासिक वाचन शृड्खला पनि बढिरहेका छन् । यी सबै पक्षले छन्दको जागरणलाई सघाइरहेका छन् । संस्थागत र अभियानगत प्रयासले अब नेपाली कविताको एउटा प्रमुख पक्ष छन्दकविता बनिरहेको छ । एउटा प्रमुख धार छन्दकविता बनिरहेको छ । यद्यपि हाम्रा अगाडि चुनौतिहरु छन् । हामीले साधना, साधना र साधनाबाट मात्र यस क्षेत्रमा सफलता पाउन सक्छौँ ।
अबका चुनौति के त ? म लामो बोल्दिनँ । यहाँ मेरा अग्रज कविहरु हुनुहुन्छ । आजका कवितालाई हेर्दा मात्र पनि हामीले सचिएर अगाडि बढ्नुपर्ने देखिन्छ । आज कुसुमितलतावेल्लिता छन्दका कविता सुनियो । यस छन्दमञ्जरीको डबलीमा आज नवौँ छन्दको अभ्यास भइरहेको थाहा पाएर पनि म केही समस्या औँल्याउँदैछु । म केही उदाहरण दिऊँ ः
बादलैको छ घेरा ,
लागेरै,
भ्रष्टाचारै,
चहलपहलै आदि । यो ऐकरको प्रयोग छन्दका राम्रा कविता सिर्जनाका लागि घातक छ । अर्को उदाहरण लिउँ तै है, नै आदि निपातजन्य ऐकारको प्रयोग । यो पनि छन्दका लागि आवश्यक र सुहाउँदो ठाउँ बाहेक घातक हुन्छ । आजका कवितामा यस्ता प्रयोग प्रशस्त मात्रामा भएका छन् । यस किसिमको प्रयोगले छन्द कवितालाई मात्र होइन मुक्त लयढाँचाका कवितालाई पनि बिगार्छ । ऐकारको प्रयोग अति आवश्यक ठाउँमा र सहज अभिव्यक्तिबाहिर गर्नुले कविता सामथ्र्यलार्य ऋणात्मक बनाउँछ ।
अनावश्यक हलन्त, अनावश्यक तद्वभीकरण, अनावश्यक आगन्तुक शब्दको प्रयोगसँगै गति यतिको अवस्था ख्याल गरिएन भने पनि छन्दको कविता कमजोर बनिदिन्छ । यी पक्षहरुले छन्द कवितालाई कमजोर बनाउने समस्या छ । सोझो भाषामा भन्दा लयचेतना मात्र कविता होइन । कविता विषय, भाव र कलाको संयोजन हो ।
कविता निबन्धभन्दाभिन्न, आख्यान, आख्यानेत्तर गद्यविधाभन्दा भिन्न र लयात्मक रचनामा पनि गीतभन्दा पनि भिन्न मन्त्रको भषा हो । सूक्तिमय सूक्तको भाषा हो । आजको कविता सन्ध्यामा मैले यी मैले भनिरहेका सबै पक्ष नहोलान् । विषय भाव कला आदिको संयोजन नहोला तर यो अभ्यासशाला भएकाले, आयोजकहरुले अभ्यासकै उद्देश्य लिएकाले यी कविता पूर्ण भइरहनु आवश्यक थिएन । शास्त्रीय छन्दको लोकलयात्मक प्रस्तुति पनि आइसक्यो । गति यतिका कुरा पनि छन् । यो अभ्यासशाला हुँदा सुधार हुने र गर्न सकिने सम्भावना प्रयाप्त देखिन्छ । अभ्यासभन्दा माथि गुरु पनि छैन । कविता कलाका लागि सबैभन्दा ठुलो साधना एकलव्य साधनामा हुन्छ । मैले प्रयोग गरेको अर्जुन दृष्टि पहिल्याउने पक्ष एकलव्य साधना हो । एकलव्यसँग अर्जुनका गुरु द्रोण पनि डराए ।
म कविता वाचन नगर्ने मनस्थितिमा थिएँ । मियोले र आयोजक एवम् संयोजकले स’ना भनेपछि म सुनाउँछु । मेरो कविताको शीर्षक छ हन्बेर्नु । म यो कविता सुनाउँछु ।
जैले तात्तछ ताउलो तब तिमी खोज्छौ कहाँ गो भनी
सेलाएपछि फाल्दछौ भुइँकुना बेकार झुम्रो गनी …
मेरो कविता यति । यहाँहरुले विशेष अतिथिका रुपमा सम्झनुभयो । अतिथि कविका रुपमा सम्झनुभयो । छन्दमञ्जरी अभियान छन्दशास्त्रका अनुचिन्तनबाट प्राप्त मानक शब्द पनि हो । म एउटा विता सिर्जनाको अभ्यास गरिरहेको कविताको विद्यार्थी र अभियन्ता पनि भएकाले आजको साँझ सार्थक भएको मेरो ठहर छ । संस्कृतबाट विकसित भाषाहरुमा नेपाली भाषाले पूर्वीय कविता कलाको शास्त्रीय पद्धतिलाई बचाएर र प्रयोग गरेर बचाएको छ । यसको विकास र विस्तारका सम्भावना अरु देखिएका छन् । यस अभियानमा सहभागी यहाँहरु सबैमा अभिवादन ।यो मन्तव्यको अवसरका लागि हार्दिक धन्यवाद । जय छन्दमञ्जरी ।

