कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचजनाको मृत्यु

भदौ २७, काठमाडौँ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ । कुल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो ।

कारागार व्यवस्थापन विभागकाअनुसार संक्रमितमध्ये शनिबारसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत् छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिनुभयो । उनीहरुलाई ‘होम आइसोलेसन’मा बस्नेगरी पठाइएको छ । शनिबारसम्म देशभरका ७१ मध्ये ११ ओटा कारागारमा संक्रमण देखिएको छ । सबैभन्दा बढी सिरहामा देखिएको छ । त्यहाँ ११० जनामा परीक्षण गर्दा ८६ मा ‘पोजिटिभ’ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत् रहेको सापकोटाले बताउनुभयो ।

सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ संक्रमणमुक्त भएका छन् भने २९ उपचाररत् छन् । यस्तै पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत संक्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा १०८ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए । कारागारमा कोरोना बढ्न थालेपछि केही दिनअघि एक रिटमा सर्वोच्च अदालतले कैदीबन्दीको स्वास्थ्योपचारमा ध्यान दिन र उच्च जोखिममा परेकालाई कानुनअनुसार कैद छुट दिन आदेश दिएको छ । सर्वोच्चले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको व्यवस्था कार्यान्वयनका लागि आवश्यक संरचना, शर्त, प्रक्रिया र कार्यविधि निर्माण गर्न पनि सरकारलाई आदेश दिएको छ ।

वि.सं. २०७५ देखि लागू भएपनि कार्यविधि र नियमहरु नबनेकाले कार्यान्वयन भएको छैन । सर्वोच्चको आदेशअनुसार आवश्यक विवरण संकलनको काम सुरु भएको सापकोटाले जानकारी दिनुभयो । आवश्यक प्रक्रिया पूरा गरी गृह मन्त्रालयमार्फत् सरकारलाई उक्त विषयको प्रतिवेदन पेस गर्ने तयारी थालिएको उहाँले बताउनुभयो । ऐनमा ५० प्रतिशत कैद भुक्तानी गरेका व्यक्तिमा असल चालचलन देखिएमा छुट दिन सकिने, खुला कारागारमा राख्न सकिने, हप्तामा एक दिन उपस्थित गराएर छाड्न सकिने, सामाजिकीकरण गर्ने तथा श्रममा लगाउन सकिनेलगायतका व्यवस्था भएपनि कार्यान्वयन भएको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.