बैतडीमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ

भदौ २४, बैतडी । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई मंगलबार दिउसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सोमबार बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भूपेन्द्र बोहरालाई भानसिंहले बाटोमा कुटपिट गरेका थिए । कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

सिगास गाउँपालिका—३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिंडेका स्वास्थ्यकर्मी भूपेन्द्रमाथि कुटपिट भएको हो । भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक चलिरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए।

कुटपिटबाट ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ । सिगास गाउँपालिका—५ मा स्वाब सङ्कलन गर्ने क्रममा हिंडेका स्वास्थ्यकर्मीमाथि बाटोमै कुटपिट भएपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको ढुङ्गाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले बताए।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.