सशस्त्र प्रहरीको बीओपी स्थापना

भदौ १६, मङ्गलबारे । नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । जिल्लाका सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम सलकपुरमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो ।

सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बिओपी स्थापना गरिएको हो । ती बीओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले सिमानाको रक्षा गर्नाका साथै स्थानीयवासीलाई सुरक्षाको अनुभूति हुने गरी काम गर्न जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले पाँचथर, ताप्लेजुङ र झापाका सीमावर्ती क्षेत्रमा समेत चाँडै बिओपी स्थापना गरिने जानकारी दिनुभयो । सलकपुरमा बिओपी स्थापना गर्नका लागि स्थानीयवासी लाखमान गम्देनले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । इलाम जिल्ला भए पनि सलकपुर पुग्न झापा काकडभिट्टा भएर जानुपर्दछ । हिउँदमा इलामको हर्कटे बजारबाट सलकपुर पुगे पनि बर्खा याममा उक्त सडक सञ्चालनमा आउन नसकेका कारण घण्टौँ लगाएर झापा हुँदै पुग्नुपर्ने बाध्यता छ ।

भारततर्फ सीमा क्षेत्रमा प्रत्येक तीनरतीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिए पनि नेपालतर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूमि अतिक्रमण बढ्नाका साथै ढुंगा, गिट्टी बालुवा जस्ता नदीजन्य वस्तुको समेत चोरी निकासी हुँदै आएको थियो । सलकपुर नजिकै रहेको मेची नदीको किनारबाट भारतीयले अवैध रुपमा नदीजन्य वस्तुको उत्खनन र चोरी निकासी गर्दै आएकामा उक्त क्षेत्रमा बिओपी स्थापनापछि ती गतिविधि रोकिने अपेक्षा गरिएको रोङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनिकुमार स्याङबोले बताउनुभयो । यस्तै समालबुङमा बिओपी स्थापनाका लागि स्थानीयवासी तारादेवी, मनोजकुमार, विष्णुकुमार, टेकबहादुर, गंगा, धनकुमार र कुलबहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । दुवै स्थानका जग्गा सशस्त्र प्रहरीका नाममा राजीनामा पासका लागि प्रक्रियासमेत अगाडि बढाइएको छ । त्यहाँँ भवन निर्माणको प्रक्रिया थालिने जनाइएको छ । आगामी असोजभित्र सीमाका छब्बीसे, जौबारी, कालपोखरी र सन्दकपुरमा बिओपी स्थापनाको लक्ष्य छ । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.