साउन ७, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनमा बसिरहेका डा. गोविन्द केसी प्रकरणलाई सरकारले गम्भीर रुपमा हेरिरहेको छ । केसी प्रकरणमा पछिल्लो समय उत्पन्न परिस्थितिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नजिकबाट नियालिरहेका हुन् ।
यो प्रकरणमा कसरी निकास दिन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री ओलीले विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओली केसीको मागका विषयमा शिक्षामन्त्रीसँग निरन्तर संवादमा रहेका छन् । भने अन्य मन्त्रीलाई पनि यो विषयको निकासका लागि अनौपचारिक रूपमा परिचालन गरेका छन् । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो विषयमा प्रधानमन्त्रीसँग लामो छलफल गरेका थिए ।
केसीको आन्दोलनमा पार्टीका झण्डा प्रयोग भएपछि
डा. केसीसँग वार्ता गर्न सरकारले सचिवस्तरिय वार्ता टोली गठन गरेको थियो । उक्त टोलीले केसीका प्रतिनिधिसँग एक दुई पटक मात्रै अनौपचारिक छलफल गर्यो । तर डा. केसीले सचिवस्तरिय वार्ता टोलीसँग वार्ता नगर्ने अडान लिएका छन् । वार्ताको लागि मन्त्री नै आउनुपर्ने उनको अडान छ । तर सरकारले भने उनको अडानलाई बेवास्था गर्दै आईरहेको छ । यसको कारण हो केसीको आन्दोलनमा प्रयोग भईरहेका पार्टीका झण्डा, राजनीतिक नेता तथा कार्यकर्ता ।
सरकारले केसीको आन्दोलनमा राजनीतिक दलहरु लागेकाले यस्तो अवस्थामा वार्ता गर्न नसकिने बताएको छ । डा. केसीका को सँग वार्ता गर्ने भन्ने विषयमा सरकार अलमलमा परेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले को सँग वार्ता गर्ने भन्नेमा सरकार अलमलमा परेको बताए । उनले भने, ‘नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, मोहन वैद्यको नेकपा ।क्रान्तिकारी माओवादी०, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति पार्टी नेपालसहितले ऐक्यवद्धता जनाएका छन् । अब भन्नुस् कोसँग वार्ता गर्ने ? सरकार अन्यौलमा परेको छ ।’ वार्ता गर्न आउने पार्टीका प्रतिनिधिहरुसँग सरकारले वार्ता नगर्ने स्पष्ट पारे । ‘डा. केसी अनशनमा हुनुहुन्छ । उहाँको तर्फबाट वार्ता कसले गर्ने हो स्पष्ट भन्नुपर्छ’, रिमालले भने, ‘डा.केसीको तर्फबाट वार्ता गर्ने भनेर विवेकशील साझा पार्टीका नेताहरू आउँछन् । सरकारले कसलाई आधिकारिक मान्ने ?’
नेकपाका नेताहरु पनि निकास दिन सक्रियः
नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि केसीको वार्ता टोलीसँग कुराकानी गरेका छन् । आइतबार साँझ श्रेष्ठ डा केसीलाई भेट्न अनशनस्थलमा पुगेका थिए । केसीलाई जुम्लाबाट राजधानी ल्याउन पनि पहल गरेका श्रेष्ठले केही लचिलो भएर प्रस्तुत हुन केसीलाई आग्रह गरेका छन् । समस्या समाधानका लागि अनौपचारिक रूपमा नेता र मन्त्री परिचालन गरे पनि प्रधानमन्त्री ओलीले केसीको प्रतिनिधित्व गर्दै विवेकशील पार्टीका नेता वार्ता टोली समावेश भएको र आन्दोलनमा प्रमुख प्रतिपक्षी कांग्रेस र विवेकशीलका नेता सहभागी भएको घटनालाई रुचाएका छैनन् ।
कांग्रेसले केसीलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न हतियार बनाउन खोजेको भन्दै प्रधानमन्त्री ओली डा। केसीले अनसन स्थगित गरे आफैं वार्ता गर्ने मनसायमा रहेका छन् । केसीको आन्दोलनमा राजनीतिक झण्डा तथा नेता कार्यकर्ता परिचालन हुने क्रम नरोकिएसम्म वार्ता गर्न नसक्ने सरकारको अडान छ ।

