भदौ ३, काठमाडौँ । विगत १२ महिनादेखि नेतृत्वविहिन रहेका पोखरा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक एवं आन्तरित व्यवस्था अस्तव्यस्त बनिरहेको छ ।
विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीको निर्देशनमा सम्पन्न हुनुपर्ने पदाधिकारी नियुक्ति प्रक्रिया हालसम्म सम्पन्न नभएको कारण लाखौँ विद्यार्थीको वर्तमान एवं भविष्यका साथै अभिभावकहरूको अपेक्षा समेत धरासायी बन्दै गइरहेको छ । पार्टी भित्रको आन्तरिक खिचातानी, दलीय भागबण्डाको दलदलमा फसेको देशको शिक्षाक्षेत्रमा दलीय भागबण्डाको कारण पदाधिकारी नियुक्त हुन नसक्नु अत्यन्त दूर्भाग्यपूर्ण भन्दै यथाशीघ्र पदाधिकारी नियुक्तिको माग राख्दै प्राज्ञिक विद्यार्थी परिषद नेपालले प्रेस विज्ञाप्ती निकालेका छन् ।
विश्वविद्यालयका उपकुलपतिले मिति २०७६ असार २९ गते पदीय जिम्मेवारी छोडेपश्चात् रिक्त रहेको रिक्त पदमा १२ महिना बितिसक्दा पनि नयाँ उपकुलपतिको नियुक्ति हुन सकेको छैन यस बिचमा पटकपटक निमित्त उपकुलपति नियुक्त गरिएको भएता पनि अन्तिम पटक नियुक्त गरिएका निमित्त उपकुलपतिको कार्यकाल समेत मिति २०७७ वैशाख २२ मा सकिएको पनि तीन महिना पुगिसकेको अवस्था छ । उपकुलपतिको नियुक्ति नहुँदा र पटक पटक दैनिक कार्यसञ्चालनका लागि मात्र अस्थायी रूपमा उपकुलपतिको जिम्मेवारी तोकिँदा महिनौँदेखि विश्वविद्यालय नै नेतृत्वविहिन बनिरहेको कुरा त छदैँछ, उपकुलपतिद्वारा सिफारिस र मनोनयनमा नियुक्ति हुने रजिष्टार, परीक्षा नियन्त्रक, विभिन्न संकायका डीन, निर्देशक विश्वविद्यालय सेवा आयोग, प्राज्ञिक परिषद् लगायतका क्षेत्रमा विभिन्न महत्वपूर्ण पदाधिकारीको नियुक्ति हुन सकेको छैन । जसका कारण पदाधिकारी नियुक्त हुन नसक्दा विद्यार्थीहरूको पठनपाठन, परीक्षा सञ्चालन , नतिजा प्रकाशन र दीक्षान्त समारोह आदि महत्वपूर्ण कार्यहरू समेत नराम्ररी प्रभावित भएका छन् । प्रेस विज्ञाप्तीमा उल्लेख छ ।
देशको महत्वपूर्ण विश्वविद्यालयमा यति लामो समयसम्म पनि पदाधिकारी नियुक्त हुन सनसक्नु विश्वविद्यालयका सहकुलपति एवं कुलपति लगायतका पदाधिकारीको अकर्मण्यता र शिक्षाक्षेत्रप्रतिको उदासिनतालाई स्पष्ट पारेको छ । देशको वर्तमान परिस्थितिमा विश्वविद्यालयका विभिन्न विषयलाई लिएर गर्नुपर्ने महत्वपूर्ण निर्णय आगामी योजना तथा शैक्षिकनीति आदि समग्र विषयलाई प्रभाव पार्ने गरी भएको पदाधिकारी शून्यताको अवस्थालाई गम्भीर रूपमा लिई यथाशीघ्र विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया पूर्ण गर्नका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विश्वविद्यालयका सह–कुलपति एवं कुलपति समक्ष हार्दिक आग्रह गरेका छन् ।


