साउन २४, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी सङ्गठनको साङ्गठनिक तथा भौतिक विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन संरचनाको निरीक्षण तथा केन्द्रको गुरुयोजनाका बारेमा आज जानकारी लिँदै उनले केन्द्रलाई आवश्यक सहयोग तथा समन्वयका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिए । तालिम केन्द्रलाई सुविधासम्पन्न एवं पूर्वाधारयुक्त देशकै नमूना तालिम केन्द्रका रूपमा स्थापना गरी थप विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सक्ने गरी निर्माणकार्य अघि बढाउनसमेत मुख्यमन्त्री गुरुङले आग्रह गरे ।
प्रहरी तालिम केन्द्र गण्डकीका प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले हाल तालिम केन्द्रको निर्माणमा भइरहेका विविध गतिविधि, विभिन्न विधाका प्रशिक्षण, निर्माणाधीन भौतिक संरचना, तालिम केन्द्र सञ्चालनका लागि तत्काल आवश्यक स्रोत साधनलगायतका विषयमा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलाई जानकारी गराएका थिए । ज्ञान, कला, कौशल र सीपले भरिपूर्ण प्रहरी कर्मचारी उत्पादन गर्ने तथा अन्तर्राष्ट्रियस्तरको नमूना प्रहरी तालिम केन्द्रका रुपमा सो केन्द्रलाई स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार तथा प्रदेश सरकारलगायत सरोकारवाला निकायको भूमिकाका विषयमा छलफल तथा अन्तरक्रिया गरी आगामी कार्ययोजना गरिने प्रहरी वरिष्ठ उपरीक्षक लोहनीले बताए । रासस

