असार २२, एजेन्सी । सुशान्त सिंह राजपुतको बहुप्रतिक्षित चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ ।
जिन्दगीदेखि हार मानिसकेका एक युवा र युवतीको प्रेमिल कथाले भरिएको ट्रेलर हेर्दा चलचित्रले दर्शकलाई भावनात्मक यात्रामा लैजाने देखिन्छ । यो निर्देशक मुकेश छाबराको पहिलो निर्देशकीय चलचित्र हो । ‘द फल्ट इन आवर स्टार्स’ उपन्यासमा आधारित यो चलचित्र किजी र मन्नीको प्रेम कहानी हो ।
‘दिल बेचारा’, उपन्यास र हलिउड चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दीमा अनुवादित चलचित्र हो । क्यानसरपीडित किजी र क्यानसरलाई जित्न सफल मन्नी एक सपोर्ट ग्रुपमा भेट हुन्छन् । त्यसपछि कहानीले गति लिन थाल्छ । ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शक र बलिउड सेलेब्सको सुशान्तप्रतिको माया पुनः एकपटक छचल्किन थालेको छ ।
२०१८ मा छायांकन गरिएको यस चलचित्रमा सुशान्त र सन्जना संघी मुख्य भूमिकामा छन् । सन्जनाको यो पहिलो चलचित्र हो । यी दुईका साथै चलचित्रमा स्वस्तिका मुखर्जी, जावेद जफरी, मिलिन्द गुनाजी र साहिल वैदको पनि अभिनय देख्न सकिन्छ, भने अभिनेता सैफ अलि खानको केमियो भूमिका रहेको छ । चलचित्र डिज्नी प्लस हटस्टारमा २४ जुलाईमा प्रिमियर हुँदैछ । – इन्डियन एक्सप्रेस

