असार २१, काठमाडौँ । आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएकाले आज पनि धेरै स्थानमा वर्षाको हुने भएको हो ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय भएसँगै नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

