असार १९, काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले जारी गरेको पर्यटन क्षेत्र सञ्चालन कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान तालिम दिन थालिएको छ ।
बोर्डले पर्यटन व्यवसायसँग सम्बन्धित संघ–संस्थासँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि अनलाइन तालिम सञ्चालन गरेको हो । बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले तालिममा ६ सयलाई सहभागिता गराइने र यसलाई निरन्तरता दिइने बताए । गत असार ८ गते पर्यटनमन्त्री योगेश भट्टराईले प्रोटोकल सार्वजनिक गरेका थिए । पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किंदासम्म अपनाउनुपर्ने विषय प्रोटोकोलमा समावेश गरिएको छ । यस तालिमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउन तथा व्यवसायी व्यवसायीबीच समन्वय गराई व्यवसाय तथा समग्र पर्यटन क्षेत्रको विकासको लागि समुचित वातावरण बनाउने विश्वास लिइएको बोर्डले जनाएको छ ।

