आपराधिक समूहविरुद्ध कठोर बन्‍न आईजीपीको निर्देशन

असार १७, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिका साथ समाजबाट उन्मूलन गर्न प्रहरी दृढ रहेको बताएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको उद्घाटन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । ज्ञवालीले मुलुकको शान्ति सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै तत्त्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारबाही गरी निस्तेज गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए । कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता आपराधिक कर्मविरुद्ध सशक्त रुपमा कारबाही अगाडि बढाउनुपर्नेमा ज्ञवालीको जोड थियो ।

आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको सञ्जाल छिन्न–भिन्न पार्दै अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी दृढ रहेको ज्ञवालीको भनाइ छ । कानुनको निष्पक्ष, पारदर्शी र न्यायसम्मत तवरबाट कार्यान्वयन हुन सकेमा मात्र कानुनी शासनको प्रत्याभूति सम्भव हुने बताउँदै कानुन र न्यायका आधारमा जिम्मेवारी वहन गर्न नसक्ने कोही पनि व्यक्ति कानुनको रक्षक हुन नसक्ने र त्यस्ता व्यक्ति संगठन र समाजका लागि योग्य पात्र नहुने उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.