असार १५, काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि स्टार अस्पताल सानेपामा भर्ना भएका थिए । उनको १३ गते स्वाब संकलनका लागि पठाइएको र सोही दिन उनको मृत्यु भएको थियो ।
उनको असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ । उनी विगत तीन महिनादेखि श्वासप्रश्वासको समस्याबाट ग्रसित भएको बताइएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

