राष्ट्रिय धान दिवस र धानको महत्व

धान रोपाइँ शुरु

असार १५, काठमाडौं । औपचारिक रुपमा आजबाट नेपालमा धान रोपाइँ शुरु हुँदैछ । असार १५ मा दही÷चिउरा खाने प्रचलन छ । चिउरा धानबाट तयार गरिने परिकार हो । नेपालीको प्रमुख खाद्यान्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ ।

यसवर्ष “धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि” नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ललितपुरको खुमलटारमा आयोजना हुने भएको छ । कृषि विभागका महानिर्देशक, कञ्चनराज पाण्डेले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिने भएको जानकारी दिए। यस अघि २० प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय भएको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको छ । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । असार १० सम्म आइपुग्दा नेपालको उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भइसकेको छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ ।

नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । कूल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन ११ प्रतिशत रहेको छ । धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ । धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतले नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व रहेको जानकारी दिए । उनले भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुको विकल्प नरहेको जानकारी दिए।

विश्वका झण्डै चार प्रतिशत जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल रहेको छ । संसारमा झण्डै १७ करोड हेक्टर जमिनमा धानखेती हुन्छ । सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो । चीन पछि भारत, इन्डोनेशिया, बङ्गलादेश, भियतनाम प्रमुख धान उत्पादन गर्ने राष्ट्र हुन् । नेपाल विश्वको १७ औँ धान उत्पादन गर्ने देश रहेको अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) तथ्याङ्कमा उल्लेख छ । नेपालमा चैते, वर्षे र घैया, भदैया र हिउँदेधान (बोरो) का रुपमा धानखेती गरिन्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापालाई सरकारले धान उत्पादनको सुपर जोन घोषण गरी लागू गरेको छ ।

हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोष जनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषण गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य लिएको छ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.