रुसमा संविधान संशोधनका लागि रुसमा मतदान हुँदै

असार ११, मस्को । रुसमा संविधान संशोधनका लागि मतदान सुरु भएको छ । जसले राष्ट्रपति भलाद्‍मिर पुटिनको राष्ट्रपतिमा दुई कार्यकाल थप हुनेछ ।

त्यहाँको संसदले यसअघि संविधान संशोधन प्रस्तावलाई स्वीकृति दिएको थियो । राष्ट्रपति पुटिनको यो कार्यकाल सन् २०२४ मा सकिनेछ भने संविधान संशोधन भएमा उनी १२ वर्ष रुसमा थप शासन गर्नेछन् । प्रतिपक्षी नेता एलेक्सी नेभाल्नीले संविधान संशोधन भएमा पुटिन ‘आजीवन राष्ट्रपति’ भइरहेको बताएका छन् । तर, पुटिनले भने यसले रुसको स्थायीत्व कायम गर्ने बताएका थिए । उनले सन् २०२४ पछि आफू फेरि राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने अथवा नगर्ने भन्‍ने विषय भने सार्वजनिक गरेका छैनन् ।

जुलाई १ देखि मतदान हुने भनिए पनि कोरोना महामारीका कारण भीडभाड कम होस् भनेर एक साताअघि नै मतदान केन्द्रहरु खुला गरिएका छन् ।  यसअघि राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट ड्युमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३८३ मत र विपक्षमा शून्य मत परेको थियो । सदनमा ४३ जना अनुपस्थित थिए । संसदबाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी उक्त प्रस्तावमाथि मतदान भइरहेको हो । उक्त कदमको विरोधमा रहेका व्यक्तिहरुले राष्ट्रपतिको कार्यको भर्त्सना गर्दै यसविरुद्ध प्रदर्शन गर्नेसमेत गरेका थिए ।

पूर्व केजीबी अधिकारी ६७ वर्षीय पुटिनले रसियामा सत्ता सम्हालेको २० वर्षभन्दा बढी भइसकेको छ । दुई पटक पूरै चार वर्षे कार्यकाल राष्ट्रपति भएपछि उनी सन् २००८ मा प्रधानमन्त्री बनेका थिए । पुटिनको स्थानमा उनकै विश्वासपात्र डिमित्री मेडभेडेभ राष्ट्रपतिमा छानिएका थिए । तत्कालीन राष्ट्रपति मेडभेडेभको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको थियो । सन् २०१२ मा पुटिन फेरि राष्ट्रपति बने । सन् २०१८ मा पुनः ६ वर्षका लागि राष्ट्रपति चयन भए । यसअघि चीनको राष्ट्रिय जनकंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था फेर्न सन् २०१८ मा संविधान संशोधन गरेको थियो । संशोधनसँगै दोस्रो कार्यकाल सन् २०२३ मा सकिन लागेका राष्ट्रपति सी चिनफिङलाई अनिश्चितकालसम्म पदमा रहिरहन बाटो खोलिदिएको छ । – बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.