असार ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएको बताए । कोभिड– १९ बाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालबाट आज एकैदिन ३७० जना घर फर्किएका बताउनुभयो । तीमध्ये ३३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन् । आइतबार मात्र १९४ जना डिस्चार्ज भएका थिए । आज डिस्चार्ज भएर घर फर्कनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन् ।
उहाँका अनुसार उक्त अस्पतालबाट निको भएर घर फर्कनेमा २६५ जना रहेका छन् । तीमध्ये १९ महिला र २४६ पुरुष रहेका छन् । कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुष, कालिकोट अस्पताल कालिकोटबाट दुई महिला र २६ पुरुष, सल्यान अस्पताल सल्यानबाट एक महिला र ३६ पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट दुई महिला र नौ पुरुष, धादिङ अस्पताल धादिङबाट चार महिला र १३ पुरुष रहेका छन् । अहिलेसम्म दुई हजार १४२ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये १६१ महिला र एक हजार ९६१ पुरुष छन् ।

