असार ८, काठमाडौं । मनसुन देशैभर फैलिएकाले पूर्वतयारी (वर्षा, बाढी, पहिरो तथा डुबान) बच्नमा लाग्न मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ। महाशाखाका अनुसार जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको छ ।
आइतबार साँझ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको छ। योसँगै मौसमी गतिविधि बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न हुन सम्बन्धित निकायलाई अनुरोध छ।’ महाशाखाका अनुसार आजदेखि वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना छ ।
अहिले बिहानै देखि देशभर मौसम बदली छ र वर्षा भइरहेको छ । आज दिनभरि पनि देशैभर वर्षाको सम्भावना छ भने ‘काठमाडौं उपत्यकामा पनि दिनभरि नै पानी पर्ने सम्भावना देखिएको छ। देशका धेरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पूर्वतयारी थाल्न र सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

