गीता सापकोटा,
योगको गणितीय अर्थ जोड्ने काम भन्ने हुन्छ । योगका अन्य विभिन्न अर्थ रहेका छन् । सम्बन्ध सम्पर्क, आपसी हेलमेल वा मेलमिलाप, कुनै पनि कामको उपयुक्तता वा अनुकूलता, साइत, जस्ता विभिन्न अर्थ योगले बोकेको छ । यसको अर्को महत्वमूर्ण अर्थ अष्टाङ्गयोग यम, नियम आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि भन्ने हुन्छ । आज विश्व योग दिवसको अवसरमा योगलाई चित्तको चञ्चल वृत्तिलाई रोक्ने काम वा वैराग्य प्राप्तको मार्ग नै योग हो भन्दा उपयोगी देखिन्छ । योगाभ्यास भन्नाले योगशास्त्रबमोजिम योगका आठैवटा अङ्गहरुको विधिपूर्वकको अनुष्ठान, योगको साधन, योगानुशासनको पालन भन्ने हुन्छ । योगअभ्यासका लागि पद्यासन, स्वस्तिकासन, भद्राअअसन, वज्रासन वा वीरासनमध्ये कुनै आसनलाई प्रयोग गरिन्छ ।
आज विश्व योग दिवस मनाइरहिएको छ । विश्वव्यापी रुपमा मनाउन थालिएको योगाभ्यासको प्राचीन उद्गम विन्दु नेपाल हो । यसमा दुईमत छैन । भारतवर्षको समयदेखि नै प्राचीन नेपालमा ऋषिमुनिहरुले हिमालयपर्वतमा गएर तपस्या गर्दा योगाभ्यासका रहेर गरेको र मोक्ष प्राप्ती गरेको इतिहास छ । तिनै ऋषिमुनिबाट यसको अभ्यास फैलिँदै गएपछि यो विश्वव्यापी अभ्यास बनिसकेको छ । आज यसको महत्वलाई बुझेर विश्वका प्राय सबै देशहरुमा विद्यालय तह देखि नै योगाभ्यासमा विद्यार्थीहरुलाई सहभागी गराउन थालिएको छ । नेपाल देशबाट प्रारम्भ गरिएको योगाभ्यास कार्यमा आम नेपाली समुदाय अनभिज्ञ हु हुँदैन । यसका लागि योगको महत्व र यसको इतिहासका बारेमा आम नेपाली जनसमुदायलाई सचेत गराउनु आजकोे आवश्यकता पनि हो ।
योगअभ्यास मानिसको आन्तरिक र बाह्य वेचैनीलाई हटाउने अभ्यास हो । यो प्रयोगात्मक कार्य हो । यसले तनावग्रस्त नकारात्मक भाव, बेचैनी, छट्पटाहट आदिलाई हटाएर शान्त भाव स्थापित गर्दछ । वर्तमान समयको विश्वव्यापी महामारीले विश्व सन्त्रासमय बनिरहेको अवस्थामा यो अभ्यास अत्यन्त उपयोगी अभ्यास सावित भइसकेको छ । यसले मानिसलाई विचलन हुनबाट जोगाउने भएको हुँदा दैनिक रुपमा मानिसले आफ्नो लागि समय दिएर योग साधनामा लाग्नु पर्ने देखिन्छ । एक हप्ताको कोर्स गरेर योगको अभ्यास हुँदैन । यसले सीप सिकाउँछ । सीप सिकेर विधिपूर्वक निरन्तर योगाभ्यास गर्न सके यसले मनलाई सूक्ष्मतातिर लैजाने काम गर्छ । जसले मन शान्ति र समृद्धि बनाउने काम हुन्छ । हाम्रो शरीरमा पोजेटिभ हर्मोनहरु उत्पत्ति हुन थाल्छन् त्यसले शारीरिक,मानसिक,सामाजिक आध्यात्मिक पक्षलाई नै अनुकूल बनाउने काम गर्दछ । त्यसैले योगाभ्यास अत्यन्त उपयोगी अभ्यास हो । वर्तमान समयमा यसलाई स्वतन्त्र महाविज्ञान हो पनि भन्न थालिएको छ ।
योगाभ्यासलाई हामीले नित्य निरन्तर रुपमा प्रयोग गरिरहनु राम्रो हुन्छ ।
ससाना बालबालिकादेखि वृद्धवृद्धाहरुका लागि पनि यो अत्यन्त उपयोगी अभ्यास हो । वर्तमान समयमा खानपान, बाह्य प्रभाव, ग्याजेटको अत्यधिक प्रयोग, शारीरिक कसरतको कमी, सामाजिकीकरणको अभाव, आध्यात्मिक चिन्तनमा ह्रास आदि विभिन्न कारणले कोशोरअवस्थादेखि नै मानिसमा प्रतिकूल असर परिरहेको अवस्था छ । यसको निदानका लागि योग एक भरपर्दो अभ्यास हो । त्यसैले विद्यालय तहदेखि उच्च कक्षाहरुका विद्यार्थीहरुलाई पनि योगअभ्यास गराइनु आजको आवश्यकता हो । परिवारमा पनि सबै सदस्यहरु सँगै बसेर योगाभ्यास गर्ने सुखी र खुसी जीवनको कल्पनामा रम्ने र मनको कलुसित भावना हटाउने हो भने मान्छेभित्रको आधा रोग त्यसै निको हुन्छ ।
वर्तमान समयमा कोरोना भाइरसको असर अथात् लकडाउनको समयमा मानिसमा तनाव बढिरहेको अवस्था छ । सबै मानिस व्यस्त जीवनबाट छुटिएर घरैमा बसिरहेका छन् । यसलाई एउटा अवसरकै रुपमा दिएर योगाभ्यास गर्न सके यस्तो विपत्को बेला मानिकले आफूलाई मानसिक र शारीरिक रुपमा विचलन हुन बाट जोगाउन सकिन्छ । यसप्रति सचेत गराउन टिभी, रेडियो र विभिन्न सञ्चारमाध्यमहरुले योगाभ्यासको लागि प्रेरित गरिरहेको अवस्था छ । सामाजिक सञ्जालहरुमा योगाभ्यास गरिरहेका उदाहरण प्रशस्त भेटिन्छन् यद्यपि यसै अवधिमा १२०० मानिसहरुले विभिन्न तनावका कारण ज्यान गुमाएका तथ्याङ्क आइरहेका छन् । यो अत्यन्त दुखद घटना हो । यस्ता सन्त्रासमय वातावरणले निम्त्याएको तनावलाई समाप्त गर्नका लागि योगाभ्यास अति आवश्यक छ ।
मानिसको क्षणिक निर्णयले आफ्नो अमूल्य चोला गुमाइरहेको छ । यसको मुख्य कारण पनि नकारात्मक भावनाको विकास भएर हो । नकारात्मक भावनाले मानिसलाई नकारात्मक सोच र कार्य गर्न प्रेरित गरिदिन्छ जसले मानिस क्षणिक आवेशमा आएर आफूलाई नै बिर्सिएर ज्यान गुमाउन पनि पछि पर्दैन । यसका साथै समाजमा हिंसाजन्य कार्यमा संलग्न हुने, झैझगडातर्फ तल्लीन हुने, अमानवीय कार्य गर्न हौसिने गर्नाले यस्तो विपत्को बेला समाजमा नकारात्मक असर परिरहेको अवस्था छ । यसको मूख्य कारण नकारात्मक सोच हो । यसको निदानको एक मात्र उपाय योगाभ्यास हो । योगले मानिसको युमिनिटि बढाउनुका साथै सम्यम बनाउँछ । सामाजिक सद्भाव र नैतिक मूल्यमान्यतातर्फ मानिसलाई लैजान्छ । जसले गर्दा मानिसमा नकारात्मक धारणा हट्दै जान्छ र उसको मानिसको जीवनशैलीलाई उच्च कोटीमा पु¥याउँछ । त्यसैले विश्व योग दिवसले आम मानव समुदायलाई योगाभ्यासतर्फ जागरुक गर्न सकोस् ।

