असार ५, काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले केन्द्रिय कार्यालयलाई किटनाशक औषधी छर्कर्ने यन्त्र हस्तान्तरण गरेको छ ।
शुक्रबार पत्रकार महासंघको केन्द्रीय कार्यालयका लागि किटनाशक औषधि छर्कँने यन्त्रका साथै केही औषधि हस्तान्तरण गर्दै कोरोना भाइरसको जोखिम घटाउन घर तथा कार्यालय आसपास क्षेत्रमा विशेष सरसफाइ गरी सावधानी अपनाउन केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यलाई मेशिन हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले अग्रमोर्चामा रहेका पत्रकारहरुको हकहित र पेसागत सम्मानलाई कुनै पनि सञ्चारगृहले अपमान गर्न नहुने बताएका छन् । श्रमजीवी पत्रकारहरु कोरोना जोखिम मोलेर सूचना प्रवाह गराउँदै आएकोमा विशेष धन्यवाद दिदै कुनै पनि सञ्चारगृहले पत्रकारहरुलाई विभिन्न बहाना बनाई पेसाबाट निकाल्न नहुने बताए । केही सञ्चारगृहहरुले पत्रकार साथीहरुलाई समयमा तलब नदिने, जागिरबाट निकालिदिने गरेको सूचना आएको उल्लेख गर्दै त्यस विषयमा महासंघले गम्भीर रुपमा लिएको बताए ।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष शान्तराम विडारीले शाखाको तर्फबाट कोरोना भाइरसको जोखिमको अवस्थामा सञ्चारकर्मीलाई थप सामाजिक सुरक्षाको खाँचो औँल्याउँदै उनीहरुलाई विभिन्न सञ्चारगृहले तलब नदिने तथा सेवाबाट हटाउन थालेकोमा आपत्ति जनाएको छ । । सञ्चार व्यवसायीले विगतमा गरेको नाफाबाट अहिले विपदको समयमा पत्रकार तथा कर्मचारीको दायित्व वहन गर्नुपर्नेमा जोड दिँदै आइसोलेशनमा बसेका सञ्चारकर्मीको उपचारमा विशेष ध्यान दिन माग गरे । कार्यक्रममा शाखा उपाध्यक्ष सुर्य सुबेदी, सचिव मोहन पन्त, केन्द्रीय पार्षद कृष्ण लेकाली, सहसचिव अमिर लामा लगायत विभिन्न सञ्चार संस्था आवद्ध पत्रकारहरु सहभागी रहेका थिए ।

