असार ३, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल दार्चुलाको कालापानी क्षेत्रको निरीक्षणमा निस्किएका छन् ।
आज बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी प्रस्थान गरेको र त्यहीबाट सेनाकै एमआई–१७ हेलिकप्टरमा कालापानी क्षेत्रमा प्रधानसेनापति र सशस्त्रका आईजीपीको टोली जानेछ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, “खासमा धनगढीमा सुदूरपश्चिम पृतनाको निरीक्षणमा जानुभएको हो । त्यही क्रममा दार्चुला गुल्ममा पनि जाने कार्यक्रम छ । सशस्त्र प्रहरी बलको प्रमुख पनि सँगै हुनुहुन्छ । दार्चुला सदरमुकामबाट छाङ्गरुमा रहेको सशस्त्रको बीओपी र नेपाली सेनाले घाटेबगडमा निर्माण गरिरहेको बाटो पनि भिजिट गर्ने कार्यक्रम छ ।”
छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बीओपी व्यास गाविसमा पर्छ । व्यास गाविसमै कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत पर्छ । दुई सुरक्षा प्रमुखको सो क्षेत्रको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । केही दिनअघि मात्रै नेपालको संसदबाट लिम्पियाधुरासमेत समेटेको नयाँ नक्सा पास भएको थियो ।

