जेठ २६, काठमाडौँ । गए राती परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेको छ । त्यस्तै काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका वडा नंं ६ नारायणटारमा पनि केही अंशिक प्रभाव परेको छ ।
जोरपाटी छहरी क्लबदेखिको ढल तथा प्लटिङ भईरहेको स्थानबाट माटो बगाएर ल्याएपछि सो स्थान जलमग्न भएको हो । नगरपालिकाभित्र अव्यवस्थित रुपमा प्लटिङ भईरहेको र त्यहाँको माटोले स्थानीयलाई परिरहेको समस्यालाई समाधान गर्न जनप्रतिनिधिलाई पटक–पटक ताकेता गरेपनि सुनुवाई नभएको स्थानीयहरुको आरोप छ । सोही क्षेत्रमा अव्यवस्थित ढलको पानी र प्लटिङको हिलो माटो थुप्रिएपछि बाटो समेत अवरुद्ध भएको छ ।

अव्यवस्थित बसोबास तथा ढल फुटेर निस्किएको पानीका कारण बस्ती डुबानमा परेको थुप्रै समाचारमध्ये जोरपाटी क्षेत्र पनि हो । जोरपाटी–सुन्दरीजल सडक खण्ड विस्तारमा पनि अलटाल भईरहदा त्यसबाट पनि वर्षाको बेला स्थानीयहरुलाई सताउने गरेको छ । ठेकेदारको ढिलासुस्ती र जनप्रतिनिधिहरुको कमजोरीका कारण समयमै बन्नुपर्ने उक्त सडक अलपत्रमा छोडिएको छ । सडक छेउमा भएको घर टहरा भत्काउने निर्णयभएपनि सोही कामलाई चासोका साथ नलिदाँ पटक–पटक समस्या उत्पन्न भईरहेको छ ।

