सुरक्षाका उपाय अपनाएर धितोपत्र बजार खोल्न निर्देशन

जेठ २६, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सुरक्षाको उपाय अपनाएर सेयर बजार खोल्न निर्देशन दिँदै लामो समयसम्म बजार बन्द गर्न नहुने बताउनुभएको छ ।

पुँजी बजारको नियमन तथा सुपरीवेक्षण गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल धितोपत्र बोर्डको २८औँ वर्ष प्रवेशका अवसरमा आइतबार राजधानीमा वेबिनारमार्फत गरिएको समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भन्नुभयो, “लामो समय लकडाउन भए पनि बजार लामो समय बन्द गर्न मिल्दैन, बजार खुलेको दिन कसरी अघि बढ्ने भन्ने योजना आवश्यक छ, त्यसैअनुसार अघि बढौँ । ” अहिले तत्कालका लागि सेयर बजारमा समस्या आएको भए पनि यो अल्पकालीन हुने भन्दै उहाँले कोरोनासँग लड्दै आफ्ना सबै क्रियाकलाप अघि बढ्नुपर्नेतर्फ पनि सचेत गराउनुभयो ।

उहाँले सरकारले दोस्रो बजारको कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाउने, पुँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलर सञ्चालनमा ल्याउने, पुँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजारको कारोबार सुरु गर्ने, वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संरचनात्मक सुधार गर्नेलगायतका नीति लिएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो समय धितोपत्र बजार निकै चुनौतीपूर्ण बनेको, सेयर बजारमा ऋणपत्रको कारोबार बढाउनुपर्ने आवश्यकता रहेको भन्दै सरकारी ऋणपत्र बजारमा लैजान सक्नेगरी तयारी गरिएको र आगामी दिनमा औद्योगिक क्षेत्रको ऋणपत्र आउन सकेमा ऋणपत्र बजार पनि विकसित हुने उल्लेख गर्नुभयो ।

बजारको जोखिम लिन नचाहने र बजारका आउन चाहनेका लागि म्युचुअल फन्ड आएको भए पनि यो प्रारम्भिक चरणमा रहेको भन्दै यसको विकासमा लाग्न बोर्डको ध्यानाकर्षण गराउँदै अर्थमन्त्री डा. खतिवडाले व्यक्तिगतका साथै संस्थागत लगानीकर्ता बढाउनेतर्फ पनि लाग्न आग्रह गर्नुभयो । स्टक डिलर आएपछि बजारमा अस्वाभाविक रूपमा हुने उतारचढाव कम हुने भन्दै उहाँले यसका लागि कानुन निर्माणलगायतका काम भइरहेको र स्टक डिलर आएपछि बजारको उचारचढाव नआउने बताउनुभयो । पुँजी बजारलाई करमा प्रोत्साहन दिने र सहजै कर तिर्नसक्ने स्थिति बनाउन आवश्यक रहेको उल्लेख गर्दे धितोपत्र बोर्ड सशक्त रूपमा अघि बढ्नुपर्ने र आन्तरिक पुँजी परिचालनको माध्यमबाट दीर्घकालीन पुँजी निर्माणको यो आधारलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो । धितोपत्र तथा वस्तु विनिमय बजारको सुदृढ एवं विश्वसनीय व्यवस्था गरी देशभर छरिएर रहेको बचत तथा वैदेशिक पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नका लागि अनुकूल वातावरण तयारी गर्न बोर्डको भूमिका सशक्त एवं प्रभावकारी हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले बोर्डलाई वित्तीय साक्षरतामा ध्यान दिन आग्रह गर्दै उहाँले नाफा सुनिश्चित गर्ने विषयमा लगानीकर्तालाई जानकारी गराउन धितोपत्र बोर्ड, नेप्सेलगायतले कार्य विभाजन गरेर अघि बढ्न सुझाव दिनुभयो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले धितोपत्र बजारमा भएको पछिल्लो नीतिगत तथा संरचनागत सुधारका कारण प्राथमिक बजारको पहुँच देशव्यापी हुनुका साथै बजारमार्फत दीर्घकालीन पुँजी परिचालन परिमाणमा वृद्धि भई नेपालमा समेत धितोपत्र बजारमार्फत सार्क क्षेत्रका अन्य देशसरह पुँजी परिचालनको कार्य भइरहेको बताउनुभयो । बोर्डले धितोपत्रको दोस्रो बजार सुधार तथा विकासका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको संरचनात्मक सुधार गर्न र धितोपत्र कारोबार प्रणालीलाई लगानीकर्ताको बैङ्क खाता तथा डिम्याट खातासँग पूर्ण रूपमा आबद्ध गरी पूर्ण स्वचालित कारोबार प्रणाली विकासका लागि आवश्यक सहजीकरण कार्य गर्दै आएको उल्लेख गर्दै उहाँले यस प्रयासमा अझै केही काम सम्पन्न हुन बाँकी रहेको बताउनुभयो ।

वस्तु विनिमय बजारसम्बन्धी ऐन तथा नियमावली लागू भई वस्तु विनिमय बजारको नियमन गर्ने क्रममा वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न इच्छुक कम्पनीलाई पूर्वस्वीकृति दिने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, मर्चेन्ट बैङ्कर एसोसिएसनका अध्यक्ष धु्रव तिमिल्सिना, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटलगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोर्डमा २० वर्षभन्दा बढी समय काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.