राष्ट्रपति कार्यालयमा स्वीकृत कार्यक्रम अनुसार नै काम हुँदैछः शहरी विकास मन्त्रालय

जेठ २२, काठमाडौं । शहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय सम्बद्ध भवनमा नियमितरुपमा गरिनु पर्ने मर्मतसम्भार कार्य नै भइरहेको स्पष्ट गरेको छ ।

वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक शीतल निवासलाई अत्यावश्यक मर्मतसम्भार गर्दै राष्ट्रको सर्वोच्च संस्था राष्ट्रपति कार्यालयको दैनिक कार्य सञ्चालनलाई सहज तुल्याउन निरन्तर परिमार्जन गर्ने क्रममा आर्थिक वर्ष २०७६÷७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार काम भएको मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट नियमित प्रक्रिया पुर्याई राष्ट्रपतिको आवास भवनमा रहेका विशिष्ट स्वदेशी तथा विदेशी पाहुनासँग भेटघाट गर्ने बैठक कक्षमा फ्लोरिङ तथा फर्निसिङ, शौचालयको मर्मत र व्यवस्था तथा कार्यालय भवनमा लिफ्ट जडान लगायत अत्यावश्यक कार्यका लागि एक करोड ५७ लाख ६ हजार ८८४ को बोलपत्र स्वीकृत भएको मन्त्रालयद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा तोकिएको डिजाइन र साइजको नेपाली ऊनी गलैँचा आपूर्ति गर्ने कार्यको कबोल अंक मूल्यअभिवृद्धि करबाहेक रु २७ लाख १२ हजार १५० को बोलपत्र छनोट सम्बन्धी आशयको सूचना प्रकाशन भएको तथ्य जानकारी हुँदाहुँदै राष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको मर्यादा र राष्ट्रपतिको छविमा आँच पुग्ने गरी एक दैनिक पत्रिकामा भ्रामक समाचार प्रकाशन भएको भन्दै मन्त्रालयले खेद व्यक्त गरेको छ । यस्ता संवेदनशील विषयमा समाचार प्रकाशन गर्दा सम्बन्धित निकायका आधिकारिक पदाधिकारीबाट सत्यतथ्य सूचना लिई सर्वसाधारणलाई यथार्थ सूचना सम्प्रेषण गर्न हुन समेत मन्त्रालयले अनुरोध गरेको छ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.