साच्चिकै थाह पाएनौ तिमीले ?
कि तिमीलाई बताएनन् कसैले
बर्षौ लगाएर बनाएको सडक
आफैँ बोल्दैन होला
तिमी नबोले पछि ।
चुपचाप बसौं भँने
मन दुख्छ
नबोली रहन नसकेपछि
मेरो सरकार….
सफल र बलियो हुनुपर्छ ।
इमानदारी र जनताप्रति
उत्तरदायी बन्नु पर्छ
म त्यही खोजिरहन्छु
सरकार.. तिमीसँग ।।
म र म जस्तै गरिबले
बगाएको पसिनाको
थोपा – थोपा बटुलेर
कर तिरेको छ
बिनाश होइन
बिकास चाहिएको छ ।
सडकसँगै तातेर
बाफ बनेर हराउँने सरकार होइन
जनता जगाउँने सरकार
चाहिएको छ मलाई यत्तिखेर ।।
बुद्ध जन्मिएको देशमा
शान्ति खोज्नु पर्दैन
मेरो सरकार…
मेरो जमिन
भाडामा दिने रहर छैन मलाई
जहाँ मेरा पूर्खाको
वीरताको दाग छ
त्यो दाग तिमीले
कुल्चिएर हिड्नु हुँदैन सरकार ।।
लेखक– प्रकाश अधिकारी,
गोकर्णेश्वर न.पा. –८, काठमाडौँ ।

